• ३० वैशाख २०८३, बुधबार

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

blog

गौर–२ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सहयोग गर्दै इन्टरनेसल बाल एकेडेमीका सञ्चालक सन्तोष पौडेल । तस्बिर – प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 

रौतहट, वैशाख ३० गते । रौतहट सदरमुकाम गौरमा रहेको इन्टरनेसनल बाल एकेडेमीले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

गौर–२ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालयका विद्यार्थीलाई बुधबार शैक्षिक सामग्री सहयोग गरिएको इन्टरनेसनल बाल एकेडेमीका सञ्चालक सन्तोष पौडेलले बताउनुभयो ।  

रामजानकी कन्या आधारभूत विद्यालयको शिशु कक्षादेखि ४ कक्षासम्म अध्ययनरत ९० जना छात्रालाइ ६ महिनाका लागि पुग्ने स्टेसनरी उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

राज्यले पाठयपुस्तक निःशुल्क रूपमा उपलब्ध गराए पनि कापीको अभाव विद्यार्थीलाई रहेको र एउटै कापीमा सबै विषय पढने गरेको देखेर पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले स्टेसनरी सहयोग गरिएको इन्टरनेसल बाल एकेडेमीका सञ्चालक पौडेलले भन्नुभयो । 

धेरै विद्यार्थीलाई कापी  किन्न पनि धौ–धौ हुने देखिएकाले इन्टरनेसनल बाल एकेडेमीले गरेको सहयोगले अभिभावकलाई समेत सहज भएको रामजानकी कन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रिना झाले बताउनुभयो । 

गौर–५ मा रहेको इन्टरनेसल बाल एकेडेमीमा हाल एक हजार चार सय विद्यार्थी अध्यनरत रहेकोमा दस प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने गरेको सञ्चालक पौडेलले बताउनुभयो । आफ्ना विद्यालयका गरिव, विपन्न बालबालिकालाई छात्रवृति सँगै स्टेसनरी, झोला, कपडा समेत सहयोग गर्ने गरेको उहाँले भन्नुभयो ।