हरिकृष्ण ऐडी
मुगु, वैशाख, ३० गते । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाय बुढाले हात पार्नुभएको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका–२ की सुनमाया बुढाले रारा ट्रेल रनको उपाधि हात पार्नुभएको हो ।
नेपाली सेनाको आयोजनामा रारा तालको सौन्दर्यताको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली सेनाले छैठौं वर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि नेपाली नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैठौं सस्करणमा महिलातर्फ ४६ र पुरुष ३ सय ६१ जना गरेर ४ सय ७ जनाले सहभागिता जनाएका थिए ।
३ सय ६० जना धावकलाई पछि पार्दै जुम्ला तातोपानी गाउँपालिका वडा–७ का दलबहादुर कुँवर रारा ट्रेल रनको पहिलो बनेका हुन् । उहाँले १६ किलोमिटरको दूरी एक घण्टा ५ मिनेटमा पार गर्नुभयो ।
जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का युवकराज बुढा १ घण्टा ७ मिनेट दोस्रो र मुगु छायानाथ रारा नगरपालिका वडा– १४ का अक्कल बढुवाल ले १ घण्टा १२ मिनेट ४४ सेकेन्ड लगाएर तृतीय स्थानमा हासिल गरेका थिए।
यसैबिच महिलातर्फका ४५ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासी गाउँपालिका–२ कि सुनमाया बुढा प्रथम हुनुभयो । उहाँले १६ किलोमीटर दूरी निर्धारित १ घण्टा १३ मिनेट १८ सेकेन्डमा पार गरी प्रथम हुनुभयो । जुम्ला पातारासी गाउँपालिका–२ की राममाया बुढाले १ घण्टा १५ मिनेट ३५ सेकेन्डमा द्वितीय हुनुभयो । त्यसैगरी डोल्पा भेरी नगरपालिका वडा ५ की सुनसरी रोकायाले १ घण्टा १७ मिनेट ४६ सेकेण्ड लगाएर तेस्रो स्थानमा हासिल गरेकी हुन्।
ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपाली सेना उत्तरपश्चिम पृतनाका उपरथी अनुपजङ्ग थापा, हनुमानध्वज गुल्मका गुल्मपति खड्कबहादुर श्रेष्ठ लगायतले सहभागी खेलाडीलाई पुरस्कार प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो ।
रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्र भरिपूर्ण नभई खेल पर्यटनको हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेको छ । त्यसैले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवर्धनसँगै खेलाडी उत्पादनका लागि नेपाली सेनाले हरेक वर्ष रारामा रारा ट्रेल रनको आयोजना गर्नेगरेको नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खड्कबहादुर श्रेष्ठले बताउनुभयो।