• ३० वैशाख २०८३, बुधबार

भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालन

blog

भीमसेन फुटबल ग्रासरुट एकेडेमीमा आबद्ध बालबालिका । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख ३० गते । जिल्लाको काठेखोला गाउँपालिका-६, बिहुँमा भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रका बालबालिकाहरूलाई फुटबल खेलको क्षेत्रमा अगाडि बढाउन प्रेरित गर्ने र खेल प्रतिभा प्रस्फुटनका लागि भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गरिएको हो । 

सहरी क्षेत्रमा फुटबल खेलप्रति आकर्षण बढ्दै गएको भए पनि ग्रामीण क्षेत्रमा चाहेर पनि खेल्न नपाउने अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको ग्रासरुट फुटबल एकेडेमीले ग्रामीण क्षेत्रमा फुटबल खेलको विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । 

केही वर्ष अगाडिदेखि सिभिल इन्जिनियरिङको अध्यापन गराउँदै आएको भीमसेन माध्यमिक विद्यालयले शिक्षक अभिनाष केसीको सक्रियतामा फुटबल एकेडेमी सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायणदत्त कँडेलले जानकारी दिनुभयो । 

८ वर्ष उमेरदेखि १२ वर्षसम्म एक समूह र १३ वर्ष माथि उमेर समूहमा अर्को समूह बनाइ फुटबल खेलसम्बन्धी तालिम सुरु गरिएको शिक्षक केसीले बताउनुभयो । तालिममा ८ वर्षदेखि १२ वर्षसम्मको समूहलाई रोहित थापा र १३ वर्षमाथि उमेर समूहका लागि निरज गौचनले फुटबल प्रशिक्षण दिनुहुने केसीले जानकारी दिनुभयो । 

तालिमका लागि जिल्ला फुटबल सङ्घ बागलुङले ६ वटा फुटबल समेत प्रदान गरेको छ । तालिममा झण्डै ५० बालबालिका सहभागी छन् । ‘‘पछिल्लो समय भलिबलसँगै गाउँ–गाउँमा फुटबलप्रति रुचि भए पनि प्रशिक्षक र पूर्वाधार अभावमा हुन नसकेको तालिम र प्रशिक्षण एकेडेमीले गर्ने छ’’ जिल्ला फुटबल सङ्घ बागलुङका अध्यक्ष जय राजभण्डारीले भन्नुभयो ।

पहाडी भूगोलमा रहेका साँघुरा खेलकुद मैदानलाई थोरै बजेट खर्चेर स्तरोन्नति गर्दा फुटबल प्रक्षिक्षण र खेलकुद गतिविधि सञ्चालन गर्न सकिने राजभण्डारीको भनाइ छ । विद्यालय तहबाटै फुटबल प्रशिक्षण दिन सके गाउँबाट पनि प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने राजभण्डारीले बताउनुभयो । ‘‘भौतिक पूर्वाधार मात्र केन्द्रमा राख्ने स्थानीय सरकारले खेलकुदप्रति चासो दिँदा प्रतिभा पलायनलाई रोक्न सकिन्छ’’ राजभण्डारीले भन्नुभयो । 

ग्रामीण क्षेत्रमा भौतिक संरचनाको अभावका कारण फुटबल खेल सञ्चालन हुन नसकेको अवस्थामा विद्यालयले सुरु गरेको काममा पालिकाले हातेमालो गर्ने काठे खोला गाउँपालिकाका प्रवक्ता तथा खेलकुद संयोजक टीका सङ्गम विकले बताउनुभयो । फुटबल एकेडेमीलाई स्थायित्व दिन खेलकुद मैदान स्तरोन्नतिसँगै खेल सामग्री सहयोगमा पनि गाउँपालिकाले साथ दिने विकको भनाइ छ ।