गोरखापत्र समाचारदाता
काठमाडौं, वैशाख २९ गते । पाशुपत क्षेत्रको आसपासका ६४ उपलिङ्ग तथा ज्योतिर्लिङ्गको परिक्रमा गर्ने उद्देश्यले थालिएको ४२ दिने बृहत् पाशुपत पदयात्रा समापन भएको छ ।
महेश संस्कृत गुरुकुल, देवघाटधामका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको सङ्कल्पमा गत चैत १७ गते सिन्धुलीको आदिलिङ्ग कुशेश्वरको पूजा गरी सुरु भएको पदयात्रा पशुपति क्षेत्रस्थित सिद्धलिङ्ग रुद्रगारेश्वरको पूजा तथा रुद्राभिषेकपछि वैशाख २८ गते समापन गरिएको हो ।
४२ दिनको पदयात्रामा दैनिक करिब ५०-६० जना पदयात्रीले सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर, मकवानपुर र काठमाडौँ जिल्लास्थित ज्योतिर्लिङ्गका पूजा आराधना गरेका थिए ।
पशुपतिका ६४ उपलिङ्ग तथा ज्योतिर्लिङ्गको प्रचारप्रसार गर्ने, बागमती (वाग्वती) को शुद्धीकरणका लागि राज्यलाई दबाब दिने, नेपाली समाजमा आध्यात्मिक जागरण ल्याई नेपाललाई गुरुराष्ट्रका रूपमा पुनःस्थापित गर्ने, किराँत, बौद्ध र हिन्दुधर्म तथा सनातन संस्कृतिबिच समन्वयको सन्देश प्रवाह गर्ने र ज्ञात–अज्ञातरूपमा राष्ट्र र राष्ट्रवासीबाट भएका देवापराध तथा शिवद्रोहप्रति क्षमायाचना गर्ने पदयात्राको लक्ष्य रहेको थियो ।

वाग्मतीको पूजा अर्चना, पशुपतिनाथको आराधना, लाखबत्ती बाल्ने, पाशुपत–महायज्ञको पूर्णाहुति र समापन एवम् प्रसाद वितरण गरिएको थियो ।
समापन सभामा पदयात्री साधु सन्त, साधक–गणलाई महेश संस्कृत गुरुकुलका अध्यक्ष एवम् पदयात्राका सङ्कल्पकर्ता स्वामी रमणानन्द गिरिजी महाराजले रुद्राक्षमाला र दोसल्ला पहि¥याएर सम्मान तथा अभिनन्दन गर्नु भएको थियो ।
सभालाई सम्बोधन गर्दै स्वामीरमणानन्द गिरिले ब्रह्मलीन डा.स्वामी रामानन्द गिरिबाट तीनलोकभन्दा माथि पाशुपत क्षेत्रको महिमा सुनेबाट पाशुपत क्षेत्रसम्बन्धी जिज्ञासा र कुतुहलता पैदा भएको बताउँदै गत वर्ष काली गण्डकी पदयात्राका समयमा पाशुपत पदयात्रासम्बन्धी अवधारणा मनमा उब्जिएको र अहिले सार्थक भएको स्पष्ट पार्नुभयो ।
उहाँले पदयात्रामा साधुसन्त, साधक, भक्तजनको ६०-६५ जनाको सहभागिता रहे पनि तीन करोड नेपाली तथा देश–विदेशमा रहेका सनातनी नेपाली सबैले मानसिक सहभागिता जनाएकाले यो यात्रा राष्ट्रिय जागरणको महाअभियान बनेको उल्लेख गर्नुभयो ।
उहाँले बाग्मतीको महिमा गंगाभन्दा बढी रहेको वर्णन शास्त्रमा पाइएको चर्चा गर्दै शुद्धीकरणका लागि दीर्घकालीन रणनीति र कार्ययोजना बनाएर तत्काल लागू गर्न राज्य संयन्त्रलाई आवाज उठाउन जरुरी रहेको बताउनु भयो ।