• २९ वैशाख २०८३, मङ्गलबार

मातृभाषा राष्ट्रिय सेवा पुरस्कारबाट प्राध्यापक तुलाधर सम्मानित

blog

मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर पुरस्कृत हुनुहुँदै ।

काठमाडौँ, वैशाख २९ गते ।  मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर पुरस्कृत हुनुभएको छ । उहाँले नगद राशि एक लाख रुपियाँ पुरस्कारसहित उक्त सम्मान प्राप्त गर्नुभएको हो ।  

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गर्दै आएको उक्त पुरस्कार यस पटक तुलाधरलाई प्रदान गरिएको हो । उहाँको पहिलो रचनाको रुपमा ‘जीवन व सङ्घर्ष’ निबन्ध नेपालभाषाको सितु पत्रिकामा प्रकाशित भएको थियो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट एम.ए. (अर्थशास्त्र) मा महिलामध्ये पहिलो र  नेपालभाषामा पनि एम.ए. गर्ने पहिलो महिला हुनुहुन्छ । उहाँले पद्मकन्या क्याम्पसमा नेपालभाषा विषयमा ३५ वर्ष र नेपाल भाषा केन्द्रीय विभागमा पाँच वर्ष प्राध्यापन गर्नुभयो । यसअघि सो पुरस्कारबाट वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशी सम्मानित हुनुभएको थियो ।

पुरस्कार छनोट समितिका संयोजक एवम् प्रतिष्ठानका पूर्व उपाध्यक्ष जितपाल किँरातले विभिन्न तथ्याङ्क खोज तथा प्रक्रिया पूरागरी उक्त पुरस्कार तुलाधरलाई दिने निर्णय भएको जानकारी दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा, प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख राम मादेनले शुभकामना मन्तव्य राख्नुभयो । 


को हुन् प्राध्यापक प्रेमशान्ति तुलाधर ?

प्राध्यापक तुलाधर वि.सं. २००८ मा काठमाडौँको भोटाहिटीमा जन्मनुभएको हो । उहाँको नेपालभाषा एकेडेमीबाट प्रकाशित ‘नेपालभाषा साहित्यया इतिहास’ नामक कृति नेपालभाषा विषयको बी.ए. तथा एम.ए. तहमा पाठ्यपुस्तकको रुपमा पढाइन्छ । 

उहाँका मुख्य कृतिहरु नेपालभाषा काव्य परम्पराय् कवि व्यथितया काव्य (समालोचना, ने.सं.११०७), न्हू बाखं पुचः या बाखं (समालोचना, नेसं. १११२), सुगत सौरभ महाकाव्यया बारे छुं. (समालोचना, ने.सं. १११९), जिगु सिर्जनाया पुचः (समालोचना, ने सं. ११२६), नेपालभाषाया पुनर्जागारणकालया महारथीपिं (ने.सं.११२५), नेपालभाषाया हाला म्येय् छपुलु (समालोचना, ने.सं.११२६), नेपालभाषा साहित्यको इतिहास (वि.सं. २०७०, नेपाली अनुवाद), नेवार जातिका अभौतिक संस्कृति (वि.सं. २०७०) र नेपालभाषाको आख्यान साहित्यमा नारी स्रष्टाहरु (वि.सं. २०७८) हुन् ।

यसैगरी, उहाँले नेपालभाषा व थ्वया साहित्य विभागीय गोष्ठि (ने.सं. १११०), लोक साहित्य (ने.सं.१११३), विष्णु अल्पज्ञया जि व जिया दुने (ने.सं. १११५), नेपाल संवत व शंखधर साख्वाः (ने.सं. ११२७), नेवाः लोकवार्ता (ने.सं. ११३०) लगायतका पुस्तक सम्पादन गर्नुभएको छ ।  

सम्मान र पुरस्कार

एम.ए. नेपालभाषामा सर्वप्रथम भएर त्रिभुवन विश्वविद्यालयबाट महेन्द्र विद्याभूषण सुवर्ण पदक तथा नेपालभाषा केन्द्रीय विभागबाट चैनलाकौल पुरस्कार प्राप्त गर्नुभएको छ । एम.ए. (अर्थशास्त्र) मा महिला विद्यार्थीमध्ये सर्वप्रथम भएर त्रिविबाट चौधरी सुवर्ण पदकबाट सम्मानित हुनुभएको छ ।

नेपालभाषाको सबभन्दा सम्मानित पुरस्कार श्रेष्ठ सिरपा, वैकुण्ठ लार्काल सिरपा, गिरिधरलाल नेपालभाषा सिरपाा, भाषा थुवाः सम्मानबाट उहाँ पुरस्कृत एवम् सम्मानित हुनुभएको छ ।