• ३० वैशाख २०८३, बुधबार

मैवाखोला माविलाई दुई भवन हस्तान्तरण

blog

मैवाखोला माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्राबास भवन ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको दुई वटा भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुस्थित मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा निर्माण गरिएको दुई वटा भवन सो विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

आठ कोठे पक्की विद्यालय भवन र छात्राबास भवन निर्माण सम्पन्न भएसँगै विद्यालयलाई हस्तान्तरण गरिएको मैवाखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार सङ्घीय सरकारको विशेष अनुदान रकमबाट उक्त दुईवटै संरचना (भवन) निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

इन्जिनियर भट्टराईका अनुसार कूल एक करोड तीन लाख १६ हजार ९८४ रुपियाँ बजेटबाट आठ कोठे विद्यालय भवन निर्माण गरिएको हो । विद्यालय भवन आर्थिक वर्ष २०७९÷८० देखि निर्माण गर्न सुरु गरिएको थियो । त्यस्तै छात्राबास भवन ८१ लाख १२ हजार ९८४ रुपियाँ बजेटमा निर्माण गरिएको हो ।

छात्राबास भवन भने आव २०८१÷८२ मा सुरु गरेर करिव एक वर्षभित्रै निर्माण सम्पन्न भएको इन्जिनियर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार छात्राबास भवनमा पनि आठवटा कोठ रहेको छ । छात्राबासमा एउटा वार्डेन रुम, चारवटा शौचालय, स्नान कक्ष सहितको संरचना निर्माण गरिएको छ भने छ वटा कोठामा १६ वटा ओछ्यान (बेड) रहेको उहाँले बताउनुभयो ।

बोलपत्र (ठेक्का) प्रक्रियामार्फत दोभान भ्याली निर्माण सेवाले विद्यालय भवन र छात्राबास भवन दुवै संरचना निर्माण गरेको हो । उक्त भवनहरु निर्माण सम्पन्न भएसँगै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम र उपाध्यक्ष कमलकुमारी लिम्बूबाट उद्घाटन भई विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

यता विद्यालय भवन र छात्राबास निर्माण भएसँगै पठनपाठन तथा छात्राहरुका लागि सहज हुने भएको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ ।