• ३० वैशाख २०८३, बुधबार

सुरक्षित ढुवानीका लागि बेलायत र फ्रान्सको अभियानमा सहभागी हुने अष्ट्रेलियाको तयारी

blog

क्यानवेरा, वैशाख ३० गते । मध्य-पूर्वमा जारी तनावको बिचमा स्ट्रेट अफ होर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा सुरु भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई समर्थन गर्न अष्ट्रेलिया तयार रहेको बुधबार बताइएकोे छ । 

रक्षामन्त्री रिचर्ड मार्लेसले विज्ञप्तिमार्फत अष्ट्रेलियाले आगामी वजेटपछि निगरानीका लागि विमानको योगदान गर्ने जनाउनु भएको छ । मार्लेसले ४० भन्दा बढी देशका रक्षामन्त्रीहरुसँग भएकोे बैठकपछि यस्तो घोषणा गर्नु भएको हो, जहाँ सहभागीहरूले होर्मुज जलमार्गमार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थनको पुष्टि गरेका छन् । 

बहु–राष्ट्रिय सैन्य अभियान अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाका लागि ठोस प्रतिबद्धता प्रदर्शन गर्दै जारी कूटनीतिक संलग्नता र सम्झौता प्रयासलाई पूरक बनाउन तयार गरिएको उहाँले बताउनुभएको छ । यो द्वन्द्व जति लामो समयसम्म चल्छ अष्ट्रेलियामा त्यति नै महत्त्वपूर्ण प्रभाव पर्ने चेतावनी दिँदै उहाँले अष्ट्रेलिया सरकारले यी प्रयासलाई समर्थन गर्न आफ्ना साझेदारसँग सहकार्य जारी राख्ने बताउनु भएको छ । रासस/सिन्ह्वा