गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख ३० गते । राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ । ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा गीत गाउनुभएकी शाक्यको यो पछिल्लो म्युजिक भिडियो हो ।
यो गीतका शब्द राजी किपूका हुन भने यस्मा सङ्गीत हरि सायमीले भनुभएको छ। यो गीत स्ट्रिङ रेकडिङ स्टुडियोले उत्पादन गरेको हो। आजभन्दा करिब २३ वर्षअघि ‘शिरीष’ एल्बम निकाल्नु भएकी शाक्य त्यसपछि भने विद्यावारिधिको तयारी र व्यावसायिक काममा बढी व्यस्त हुनुभएको थियो ।
गीत–सङ्गीतको यात्राबाट टाढा रहेको करिब २३ वर्षपछि अर्थात केही महिनाअघि मात्र पनि उहाँको ‘मेरो गीतभित्र’ म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
इजरालयलका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्किएपछि पुनः गीत–सङ्गीतको क्षेत्रमा फर्किने योजना बनाउनुभएकी शाक्य पछिल्लो समय एकपछि अर्को गर्दै गीत–सङ्गीतको यात्रालाई अघि बढाउँदै आउनुभएको छ।
यसअघिको म्युजिक भिडियोमा कलाकार सरोज खनाल र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय तथा सङ्गीत डा. अन्जान र इन्जिनियर सञ्जय शाक्यको रहेको थियो । देवकुमार श्रेष्ठले निर्देशन गर्नुभएको उक्त गीतलाई स्रोताले मन पराएपछि आफूले फेरि नयाँ गीत ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ ल्याएको जानकारी दिनुभयो ।
नयाँ म्युजिक भिडियोमा पछिल्लो समय बढ्दै गएको एआइको प्रयोगलाई समेत भरपुर उपयोग गरेको शाक्यले जानकारी दिनुभयो । म्युजिक भिडियोमा बालापनदेखिको अवोध प्रेम नै ठुलो भएपछि सफलतामा परिणत भएको कथालाई गीतका माध्ययमबाट देखाउन खोजिएको छ । गीतको शब्दहरूको भावले पनि त्यसैलाई प्रतिनिधित्व गरेका छन् ।
शब्दमा बाल्यकालदेखिको अवोध प्रेम प्रकाशको किरण बनेर छाइदिन र जुनी–जुनीसम्म वसन्तयामजस्तै अर्थात मधुमास बनेर रहिरहोस् भन्ने अपील गीतमा देखिन्छ । भिडियोमा पनि गीतका शब्दलाई न्याय हुनेगरी संयोजन गरेको देखिन्छ । म्युजिक भिडियोमा एआईको प्रयोग रावी शाक्यले गरेको भन्दै गायिका शाक्यले पोस्टरमा पनि एआई प्रविधिको प्रयोग गरेको जानकारी दिनुभयो ।