विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ३० गते । सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियामा आगलागी हुँदा ६ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । स्थानीय ६० वर्षीय बेदबिहारी मण्डलको गोठघरमा आगलागी हुँदा ६ लाख २० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
मङ्गलबार राति ९ः४० बजे काठले बनेको र माथि टिनको छानो भएको, सुत्ने कोठासमेत रहेको गोठघरमा बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
आगलागीबाट ५० क्युफिट सिसौको काठ, ३२ मन धान, एक बाछो जलेर नष्ट भएको, साथै गोठघर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यसबाट करिब ६ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
स्थानीय बासिन्दा, प्रहरी तथा नेपाली सेनाको दमकलको सहयोगमा राति ११ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।