काठमाडौँ, वैशाख ३० गते । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रम छलफल हुनुपर्ने जिकिर गरेको छ ।
विपक्ष दलले प्रधानमन्त्री वालेन्द्र साहको अनिवार्य उपस्थितिको मा गर्दै संसद् बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सो कुरा बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्रीको सो प्रस्ताव मन्त्रीले प्रस्ताव गर्दा हुने तर सो विषय प्रधानमन्त्रीको उपस्थिति बिना छलफल हुँदैन भन्नेकुरा हुनै नसक्ने बताउनुभयो ।
उहाँले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति बिना सो विषयमा छलफल गर्ननमिल्ने भन्नेकुरा नभएकोतर्फ पनि विपक्ष दलहरूको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो,“यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन । र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमति गरेर यो दोस्रो बैठकमा आयौं । त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नेहो भन्ने हुनु पर्यो । अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्नेकुरा हुँदैन । कुनै पनि नियम यस्तो छैन । यो त भएन ।”
प्रमुख सचेतक बुर्लाकोटीले विपक्ष दलले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी कुरा गरेको भन्दै कटाक्ष पनि गर्नुभयो ।