गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख ३० गते । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाहको विषयमा संसद बैठकमा कुरा उठेकाले जवाफ दिन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बुधबार धारणा राख्दै उहाँले सो आग्रह गर्नुभयो । बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख भए पनि उहाँको तर्फबाट अर्को मन्त्रीले जवाफ दिने तयारी गर्नुभएपछि प्रतिपक्षी दलहरूले विरोध गर्नुपरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री शाह बैठकमा अनुपस्थित रहनु भएपछि प्रतिपक्षी दलका सांसदले विरोध जनाउनुभएको छ ।
संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरू संसद् प्रति जवाफदेही हुने व्यवस्था भएकाले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री शाह बैठकमा उपस्थित नहुँदासम्म प्रतिपक्षी दलहरूले विरोध गर्न नछाड्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शाह बैठकमा जवाफ दिन आफ्नो सट्टामा अर्थमन्त्री स्वर्णीम वाग्लेलाई पठाउनु भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ले बैठक बहिस्कार गरी बाहिरिनुभएको थियो ।