धनुषा समाचारदाता
जनकपुरधाम, वैशाख ३० गते । अपाङ्गता, अति विपन्न तथा जोखिममा रहेका समुदायका व्यक्तिहरूको जीविकोपार्जन तथा आर्थिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशमा मङ्गलबारदेखि ‘आशा : समावेशी जीविकोपार्जजन र आर्थिक सशक्तीकरण’ परियोजना शुभारम्भ भएको छ ।
नेपाल सरकारसँगको समन्वय, अस्टेलियन एड र सिबिएमको आर्थिक तथा प्राविधिक सहयोगमा लाइफ नेपाल र अपाङ्ग समाज जनकपुरधामले सञ्चालन गर्ने परियोजनाको मधेश प्रदेशका सभामुख रामअशिष यादवले जनकपुरधाममा शुभारम्भ गर्नुभयो ।
सभामुख यादवले अपाङ्गताको मुद्दा स्थापित गर्न सबै पक्ष सजग र सचेत हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “परियोजनाको नाम नै आशा रहेकाले कार्यान्वयनको समयमा लक्षित वर्ग निराश हुन नपरोस् ।”
कार्यक्रममा सहभागी पालिका प्रमुखहरूले आफ्नो पालिकालाई नमुना बनाउन सञ्चालन भएको उक्त परियोजनाले सहयो पुग्ने विश्वास व्यक्त गरेका थिए । उद्घाटन सत्रमा परियोजनाबारे जानकारी दिँदै लाइफ नेपालका कार्यक्रम संयोजक पूजा शर्माले पहिलो चरणमा धनुषा जिल्लाको मिथिला नगरपालिका, छिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिका गरी चार पालिकामा परियोजना सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँले सन् २०२६ अप्रिलदेखि सञ्चालन भएको परियोजना सन् २०३० को मार्चसम्म चल्ने जानकारी दिँदै परियोजनामार्फत प्रत्यक्ष रूपमा तीन हजार व्यक्ति लभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सिबिएमका कन्ट्री डाइरेक्टर राजन भट्टराईले परियोजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।