• ३० वैशाख २०८३, बुधबार

दुई कक्षा खाली, चार विद्यार्थी मात्र रहेको विद्यालय

blog

चार जना विद्यार्थी भएकाले एउटै कक्षामा राखेर पढाइँदै । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, वैशाख ३० गते ।
तीन कक्षासम्म पठनपाठन हुने खोटाङको बछलादेवी आधारभूत विद्यालयमा यस शैक्षिक सत्रमा चार जना मात्र विद्यार्थी रहेका छन् । रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित उक्त विद्यालयमा नयाँ शैक्षिक सत्र २०८३ मा चार जना मात्र विद्यार्थी भर्ना भएका हुन् ।

बालविकासदेखि कक्षा तीनसम्म सञ्चालन भइरहेको बछलादेवी आधारभूत विद्यालयका दुई वटा कक्षा खाली रहेका छन् । बालविकास कक्षामा दुई जना र कक्षा एकमा दुई जना विद्यार्थी भर्ना भएका छन् । कक्षा दुई र तीन खाली रहेको विद्यालयकी प्रधानाध्यापक कल्पना कार्कीले बताउनुभयो । अघिल्लो शैक्षिक सत्रमा २१ जना विद्यार्थी रहे पनि नयाँ शैक्षिक सत्रमा चार जना मात्र विद्यार्थी भर्ना भएको उहाँको भनाइ छ ।२०४९ सालमा स्थापना भएको उक्त विद्यालय विद्यार्थी अभावका कारण सङ्कटमा परेको छ । कुनै समय एउटै कक्षामा ३० जनासम्म विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा अहिले कक्षाकोठा नै खाली भएका छन् । विद्यालयमा एक जना स्थायी शिक्षक, एक जना बालविकास शिक्षक, एक जना निजी शिक्षक र एक जना कार्यालय सहयोगी गरी चार जना कार्यरत छन् ।

गाउँमा जन्मदर घट्नु र अभिभावकको निजी विद्यालयप्रतिको आकर्षण बढ्नुले सामुदायिक विद्यालय सङ्कटमा परेको हो । बछलादेवी विद्यालय क्षेत्रका केही बालबालिका अङ्ग्रेजी माध्यममा पठनपाठन हुने हौँचुरकै शारदा माध्यमिक विद्यालयमा जाने गरेका छन् । कतिपय अभिभावकले दिक्तेल, इटहरी, काठमाडौं लगायतका ठाउँका निजी विद्यालयमा समेत बालबालिका पढाउन लगेको पाइएको छ ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरू गाभ्ने (मर्ज गर्ने) लगायतका शैक्षिक सुधार योजनाअन्तर्गत रावा बेसी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले सबै वडामा छलफल गरेका छन् । सोही योजनाअनुसार विद्यार्थी सङ्ख्या कम भएको बछलादेवी आधारभूत विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने तयारी गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो । बालविकास कक्षा भने सोही ठाउँमा यथावत राख्न अभिभावकले माग गरेका छन् ।

विद्यालयमा भूकम्प प्रतिरोधात्मक संरचना अन्तर्गत दुई वटा दुई–कोठे भवन रहेका छन् । कक्षाकोठा पक्की र धुलोरहित छन् । शौचालय र खानेपानीको सुविधा पनि उपलब्ध छ । तर विद्यार्थी अभावका कारण ३४ वर्ष पुरानो बछलादेवी आधारभूत विद्यालयको अस्तित्व सङ्कटमा परेको छ ।