• ३० वैशाख २०८३, बुधबार

गण्डकी प्रदेशमा ७२.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

blog

शिक्षा विकास तथा समन्वय इकाई बागलुङको कार्यालय । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख ३० गते ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा गण्डकी प्रदेशका ७२ दशमलव ७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी कुल ३६ हजार ४ सय ९३ विद्यार्थीमध्ये २६ हजार ५ सय ५० विद्यार्थी ग्रेडेड भएका हुन् ।

क्षेत्रीय शिक्षा निर्देशनालय का अधिकृत (आठौं) खेमराज पौडेलका अनुसार गण्डकीमा साधारणतर्फ ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने ३ हजार ९ सय ९९ जना छन् । ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने ७ हजार ३ सय ३९ जना छन् ।

यस्तै, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउने ९ हजार ४ सय ४५ जना रहेको उहाँले जानकारी दिनुभयो । २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउने ५ हजार ३ सय ५४ र २ देखि २ दशमलव ४ जीपीए ल्याउने ४ सय १३ विद्यार्थी छन् ।

बागलुङका १३ जना विद्यार्थीले ४ जीपीए
एसइईमा बागलुङका ६७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । तीमध्ये १३ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । संस्थागत विद्यालयका १२ जना र सामुदायिक विद्यालयतर्फ १ जनाले ४ जीपीए ल्याएका हुन् ।

४ जीपीए ल्याउनेमा सिद्धार्थ शिक्षा सदनका ४ जना, चिल्ड्रेन लाइफ बोर्डिङका ३ जना, जनता आवासीय माध्यमिक विद्यालय बुर्तिवाङका २ जना, बुर्तिवाङ न्यु मोडर्न एकेडेमीका १ जना, अमर आदर्शका १ जना, गरिमा आवासीय माध्यमिक विद्यालयका १ जना तथा सामुदायिकतर्फ बागलुङ नगरपालिका–१३ पैयुँपाटा स्थित त्रिभुवन माध्यमिक विद्यालयका १ जना रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई बागलुङ का प्रमुख प्रकाशबन्धु अर्यालका अनुसार साधारणतर्फ परीक्षा दिएका ३ हजार ५ सय ६५ जना विद्यार्थीमध्ये २ हजार ३ सय ५९ जना ग्रेडेड भएका छन् । उहाँले भन्नुभयो, “यहाँका २२ विद्यालयले आफ्ना विद्यार्थी शतप्रतिशत ग्रेडेड बनाउन सफल भएका छन् ।”

प्राविधिक धारतर्फ जिल्लाका १ सय ९१ विद्यार्थी ग्रेडेड भएका छन् । त्यसमध्ये ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने ७ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने ६६ जना र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउने ८० जना छन् । २२ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।

साधारणतर्फ ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने २ सय ६६ जना छन् । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने ५ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउने ७ सय ७८ जना, २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउने ६ सय ९७ जना तथा २ देखि २ दशमलव ४ जीपीए ल्याउने १ सय १८ जना रहेका छन् ।