• ३० वैशाख २०८३, बुधबार

युडब्लुएस नेपालको सहयोगमा बालमैत्री विद्यालय भवन हस्तान्तरण

blog

गोकुल भुजेल
भोजपुर, वैशाख ३० गते ।
भोजपुरको षडानन्द नगरपालिका–२ स्थित श्री जनोदय आधारभूत विद्यालयलाई युडब्लुएस नेपाल को साझेदारी र दातृ निकाय ट्रोपिक कम्पनीको सहयोगमा निर्मित ११ कोठे बालमैत्री विद्यालय भवन, ५ कोठे अपाङ्गमैत्री शौचालय तथा खानेपानी धारासहितका भौतिक संरचना हस्तान्तरण गरिएको छ ।

दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने, पठनपाठनमा सहजता ल्याउने र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले युडब्लुएस नेपालले सामुदायिक विद्यालयमा भवन निर्माणलगायत शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । सोहीअनुसार जनोदय आधारभूत विद्यालयलाई भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

भवन उद्घाटन गर्दै दातृ निकाय ट्रोपिकका उपप्रमुख कार्लटन कोनेलले संस्थाको उद्देश्य दुर्गम क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक सुधारका लागि आगामी पाँच वर्षसम्म निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयको व्यवस्थापन तथा सञ्चालनका लागि पालिकाले आवश्यक सहयोग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताउनुभयो ।

त्यस्तै, संस्थाले पालिकाभित्र शैक्षिक विकाससँगै जलवायु परिवर्तन तथा वातावरण संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको भन्दै उपप्रमुख प्रमीला राईले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

युडब्लुएस नेपालका निर्देशक अभिनाश झाले भोजपुरसहित सङ्खुवासभा, ताप्लेजुङ, तनहुँ र गुल्मी गरी पाँच जिल्लामा ८७ वटा विद्यालय भवन निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा मात्रै सोही प्रकृतिका ८ वटा भवन निर्माण र २० वटा विद्यालयमा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् । पाँच वर्षे साझेदारी पूरा भएका ४३ वटा विद्यालय यसअघि नै स्थानीय सरकार र समुदायलाई हस्तान्तरण गरिसकिएको पनि उहाँले बताउनुभयो ।

षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास, उपप्रमुख प्रमीला राई, युडब्लुएस नेपालका निर्देशक अभिनाश झा र दातृ कम्पनीका प्रतिनिधि कार्लटन कोनेललगायतले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो ।