धनगढी समाचारदाता
धनगढी, वैशाख ३० गते । कर्णाली नदीमा भइरहेको असन्तुलित उत्खननले कैलालीतर्फ जोखिम बढिरहेको छ । एकातर्फ मात्रै भइरहेको उत्खननका कारण कैलालीका लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकातर्फ जोखिम बढेको हो । नदीको अर्कोपट्टि बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र परेका कारण त्यसतर्फ नदीजन्य वस्तु उत्खननमा प्रतिबन्ध लगाइएको छ । कैलालीतर्फ भने बर्सेनि उत्खनन हुँदा कर्णाली नदीको भँगालो पश्चिमतर्फ आइरहेको छ ।
एकातर्फ उत्खननमा प्रतिबन्ध लगाइएको र अर्कातर्फ मापदण्डभन्दा बढी परिमाणमा भइरहेको उत्खननले जोखिम बढेको डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत दिलीप यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको छुट्टै नियम भए पनि सरकारले निर्णय गरेमा दुवैतर्फ मापदण्ड अनुसार उत्खनन गरेर सन्तुलन मिलाउन सकिन्छ । यत्ति गरिएन भने जानकी गाउँपालिका र टीकापुर नगरपालिकाको भविष्य धेरै खतरामा पर्न सक्छ ।” चालु आर्थिक वर्षमा पनि विगत वर्ष झैँ टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका गरी तिनै पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएका छन् । टीकापुर र जानकीमा १० वटा घाटबाट यस वर्ष एक लाख २४ हजार १५८.२३ घनमिटर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिने जनाइएको छ ।
जानकी गाउँपालिकाले मात्रै छ वटा घाटबाट ८० हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको पूर्वाधार शाखा प्रमुख योगेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन÷तीन प्याकेज बनाएर दुई वटा ठेक्का गरिएको छ ।
यस्तै टीकापुर नगरपालिकाले ४४ हजार १५८.२३ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्नका लागि चार घाटलाई दुई प्याकेज बनाएर ठेक्का दिएको छ । दुई घाटको एक प्याकेज बनाइएको राजस्व शाखाका नन्द केसीले जानकारी दिनुभयो । टीकापुरको वडा नं. ५ शाहीपुर घाटबाट तीन हजार ३०२.५२ घनमिटर, वडा नं. ७ को पुरानो मसानघाटबाट २० हजार ८१८.३५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि एउटा प्याकेज बनाएर ठेक्का लगाइएको छ । यस्तै वडा नं. ५ को दौलतपुर मसानघाटबाट छ हजार ९३२.६४ घनमिटर, वडा नं. ८ को सत्ती वनगाउँघाटबाट १३ हजार १०४.७२ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि दोस्रो प्याकेज बनाएर ठेक्का लगाइएको छ ।
लम्कीचुहा नगरपालिकाले भने कर्णाली नदी, धोबिनीखोला र गोरङ्गे खोलाको एउटा प्याकेज बनाएर ठेक्का दिएको छ । यो प्याकेजबाट ७० हजार दुई सय घनमिटर नदीजन्य पदार्थ उत्खनन हुने लम्कीचुहा नगरपालिकाको राजस्व शाखाका जीवन न्यौपानेले जानकारी दिनुभयो । यी पालिकाले कर्णालीको नदीजन्य पदार्थ बिक्री गर्दा आम्दानीसँगै जोखिम पनि निम्तिरहेको छ । एकातर्फ उत्खनन भइरहने र अर्कातर्फ उत्खनन नै नहुने परिपाटीले एक दशकमा कर्णाली नदी लम्कीचुहा नगरपालिकाको गोरुङ्गे क्षेत्रमा ३३७ मिटर पश्चिमतिर आएको छ । गुगल अर्थको विवरण अनुसार सन् २०१५ मा गोरुङ्गेस्थित पूर्वपश्चिम राजमार्गबाट कर्णाली नदी करिब ७११ मिटरको दुरीमा थियो । सन् २०२५ सम्म यो नदी राजमार्गबाट करिब ३७४ मिटरको दुरीमा मात्रै बगिरहेको छ ।
निकुञ्जतर्फ उत्खनन हुन नसकेर त्यता ठुलठुला टापु बनिसकेको जानकी गाउँपालिकास्थित चिसापानी कर्णाली सामुदायिक वनका अध्यक्ष बिमन चौधरीले बताउनुभयो । उहाँले कर्णाली नदी पहिलेभन्दा फरक भइसकेको जनाउँदै कैलालीतिर बढी कटान गरिरहेको उल्लेख गर्नुभयो ।
यो नदीले बर्खामा मात्रै नभई हिउँद तथा सुक्खायाममा पनि कटान गर्ने गरेको छ । टीकापुर नगरपालिका–५ को शाहीपुर क्षेत्रमा अहिलेसमेत नदीले कटान गरिरहेको स्थानीयले बताएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ५ को उपदफा (१) च मा भनिएको छ, “खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ ढुङ्गा, कङ्कड, माटो वा अन्य यस्तै पदार्थ हटाउन पाइने छैन ।”
कर्णाली नदीको हकमा भने उत्खनन नहुँदा टापु बनेर मानव–वन्यजन्तु दुवैलाई असर भइरहेकाले आवश्यकता अनुसार उत्खनन गर्नुपर्नेमा धेरैको जोड छ । मानव–वन्यजन्तुका लागि चिन्ताजनक रहेको यो मुद्दाप्रति सरोकारवालाले ध्यान दिन नसकेको संरक्षणकर्मी आशिष चौधरीको भनाइ छ ।