अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ३० गते । नेपाल मात्र होइन, विश्वमै सबैभन्दा बढी प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । तराईको समथर भूभागदेखि समुद्री सतहबाट करिब ४ हजार ४ सय मिटर उचाइसम्म खेती हुने भएकाले नेपालका अधिकांश जिल्लामा आलु उत्पादन हुँदै आएको छ । प्रमुख खाद्यान्न तथा नगदे बालीका रूपमा आलु महत्वपूर्ण मानिन्छ । म्याग्दी जिल्लामा पनि अधिकांश क्षेत्रमा आलु खेती हुने गरेको छ । तर यस वर्ष आलुमा डडुवा रोग लाग्दा उत्पादन घट्ने त्रासले कृषक चिन्तित बनेका छन् ।
म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा खायन आलु खेती विस्तारका लागि ७० हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य राखिएको थियो । सोही वर्ष आलु खेती प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकार बाट १ करोड २० लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको कृषि विकास कार्यालय म्याग्दी ले जनाएको छ । कार्यालयका अनुसार १ हजार ९४ रोपनी क्षेत्रफलमा खायन आलु तथा १४१ रोपनीमा बीउ आलु उत्पादनका लागि अनुदान प्रदान गरिएको थियो । गत वर्ष जिल्लामा १ हजार २९७ मेट्रिक टन बीउ आलु उत्पादन भएको तथ्याङ्क रहेको छ । जिल्लामा प्रतिहेक्टर औसत साढे १९ मेट्रिक टन आलु उत्पादन हुने गरेको कृषि विकास कार्यालय म्याग्दीका बाली संरक्षण अधिकृत प्रकाश पुनले बताउनुभयो ।
उहाँका अनुसार म्याग्दीको राम्चे क्षेत्र आलु उत्पादनका लागि परिचित मानिन्छ । यहाँका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत आलु खेती नै हो । राम्चे क्षेत्रमा रहेका करिब ४ सय घरधुरीमध्ये ३ सयभन्दा बढी परिवार प्रत्यक्ष रूपमा आलु खेतीमा निर्भर छन् । तर यस वर्ष भने बेमौसमी वर्षासँगै फैलिएको डडुवा रोगले कृषकलाई चिन्तित बनाएको छ । प्रमुख नगदे बाली आलुमै रोग फैलिन थालेपछि उत्पादन घट्ने चिन्ता बढेको अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।
स्थानीय कृषकका अनुसार लगातारको बेमौसमी वर्षाका कारण आलुमा डडुवा रोग देखिन थालेको छ । रोग फैलिँदै जाँदा बोट सुक्ने र उत्पादनमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ । कृषकहरूले समयमै प्राविधिक सहयोग तथा रोग नियन्त्रणका उपाय उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
आलुको उत्पादन र गुणस्तर सुधार हुने समयमा परेको वर्षाका कारण ढुसीजन्य डडुवा रोगले धेरैजसो बालीमा असर पारेको कृषक यामबहादुर पुर्जाले बताउनुभयो । उहाँका अनुसार राम्चे आलु उत्पादनका लागि निकै राम्रो क्षेत्र हो र यहाँको आलु देशका विभिन्न भागमा पुग्ने गर्दछ । तर यस वर्ष रोगका कारण उत्पादन घट्ने त्रास बढेको छ ।
म्याग्दीमा उत्पादन हुने आलु मुख्य रूपमा बेनी, बागलुङ, पोखरा, चितवन तथा काठमाडौँसम्म पुग्ने गरेको छ । राम्चे क्षेत्रको आलु स्वादिलो भएकाले बजारमा माग उच्च रहने गर्दछ । तर यस वर्ष उत्पादन घट्ने देखिएपछि कृषकमा चिन्ता बढेको छ । समयमै प्राविधिक सहयोग प्राप्त भए केही समस्या कम हुन सक्ने भए पनि पूर्ण रूपमा नियन्त्रण गर्न कठिन हुने देखिन्छ ।