• ३० वैशाख २०८३, बुधबार

फिक्कल अस्पतालमा इको सेवा सञ्चालन

blog

फिक्कल अस्पतालमा इको सेवा उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), वैशाख ३० गते ।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालनमा ल्याइएको छ । थप स्वास्थ्य सेवा विस्तार गरी नागरिकलाई सेवा प्रदान गर्नका लागि अस्पतालमा इको सेवा सञ्चालन गरिएको हो ।

वार्षिक ६० हजारभन्दा बढी नागरिकले सेवा लिँदै आएको अस्पतालले स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले इको सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा. सरोज दर्नालले जानकारी दिनुभयो ।

अस्पतालमा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कार्यवाहक नगर प्रमुख बरालले इको मेसिन सञ्चालनमा आएपछि सूर्योदय नगरपालिका सहित छिमेकी पालिकाका नागरिकलाई समेत सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इको सेवा लिन झापा तथा अन्य जिल्लासम्म जानुपर्ने र महँगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ, यसले नागरिकलाई ठुलो राहत दिएको छ ।”

डा. दर्नालले बिरामीको चापलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको जानकारी दिनुभयो । चिसो मौसममा मुटु रोगीको संख्या बढ्ने भएकाले यो सेवा सञ्चालनपछि सेवाग्राहीलाई ठुलो राहत मिल्ने उहाँले बताउनुभयो ।

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ सहज हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो ।

यसैबीच, फिक्कल अस्पतालमा पूर्ण अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिन जडान गरिएको छ । छिटो र विश्वसनीय परीक्षण रिपोर्ट उपलब्ध गराउने उद्देश्यले उक्त मेसिन जडान गरिएको हो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस मेसिनको रिपोर्ट शतप्रतिशत विश्वसनीय रहेको बताइएको छ । मेसिन सञ्चालनपछि रिपोर्ट छिटो उपलब्ध गराउन सहज भएको अस्पतालका प्रशासन प्रमुख फाजुङ भोटेले जानकारी दिनुभयो ।

फिक्कल अस्पताल पहाडी क्षेत्रका अस्पतालमध्ये बढी सेवा दिने अस्पतालका रूपमा परिचित छ । नगरका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले समयानुकूल अस्पताललाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो ।