• ३० वैशाख २०८३, बुधबार

दुई वर्षदेखि अलपत्र पुलको काम सुचारु

blog

नारायणखोलास्थित स्टिल ट्रस्ट पुल निर्माणस्थल । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, वैशाख ३० गते । सर्लाहीको नारायणखोलास्थित नारायण दोभानमा दुई वर्षदेखि अलपत्र ट्रस्ट पुल निर्माण कार्य सुचारु भएको छ । 

चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका १३ र १४ को सीमास्थित नारायणखोलामा दुई वर्षपछि पुल निर्माणको काम सुचारु हुने भएपछि स्थानीयमा आशा पलाएको छ । पुल अलपत्र हुँदा जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने नारायणखोलाका स्थानीय सास्ती खेपिरहेका छन् । 

नारायणखोलामा ट्रस्ट पुल निर्माणका लागि समता कन्ट्रक्सन प्रालिले दुई वर्षभित्र काम सक्नुपर्ने गरी २०७९ चैत १६ गते सम्झौता भएको थियो । बजेट अभावका कारण दुई वर्षसम्म पुल निर्माण कार्य अलपत्र रहेको थियो । 

अधुरो अवस्थामा रहेको पुल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२÷८३ मा एक करोड ६१ लाख रुपियाँ सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको लालबन्दी नगरपालिका कार्यालयले जनाएको छ । यस्तै नगरपालिकाबाट एक करोड ६२ लाख रुपियाँ विनियोजन गरिएको छ । लालबन्दी नगरपालिकाका इन्जिनियर रोशनकुमार पण्डितका अनुसार नारायणखोलामा ट्रस्ट पुल निर्माणको काम हालसम्म ४० प्रतिशत पूरा भएको छ । 

सङ्घीय समानीकरण अनुदान अन्तर्गत पुल निर्माणका लागि पहिलो वर्ष एक करोड ५० लाख रुपियाँ मात्रै निकासा भएको थियो । त्यसपछि बजेट आउन छाडेपछि निर्माणको काम अलपत्र बनेको थियो ।  

निर्माण व्यवसायीले ट्रस्ट पुल र पुलको दुवैतर्फ सय सय मिटर पहुँच सडक  निर्माण गर्ने गरी सम्झौता भएको इन्जिनियर पण्डितले जानकारी दिनुभयो । नगर कार्यपालिकाको बैठकले निर्माण व्यवसायीलाई पुल निर्माणका लागि आगामी पुस मसान्तसम्मको म्याद थप गरेको छ । 

लालबन्दी नगरपालिकाले वडा नं. १४ नारायणखोलासम्म सडक पु¥याउन वडा नं. १३ स्थित पत्थरकोट छेडा गाउँदेखि नारायणखोलाको साबिक गाविस कार्यालय रहेको मटरदोभाननजिक सानोकाप्लेसम्म ट्र्याक सडक पु¥याएको छ । यो वर्ष मटरदोभानसम्म सडकको ट्र्याक पु¥याउने गरी बजेटको व्यवस्था गरिएको लालबन्दी १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताउनुभयो । 

यही सडकका लागि मधेश प्रदेश सरकारले यस वर्ष ७५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । नारायणखोलामा पुल निर्माण पूरा नहुँदा अहिले पत्थरकोटदेखि नै पैदल हिँडेर जानुपर्ने अवस्था रहेको वडाध्यक्ष घिसिङको गुनासो छ ।