• ३० वैशाख २०८३, बुधबार

स्वरोजगार बन्दै ग्रामीण महिला

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), वैशाख ३० गते । कैलालीको घोडाघोडी नगरपालिका–१२, त्रिवेणीका सावित्री चौधरीले दुनाटपरी बनाउने तालिम लिएपछि स्वरोजगार बन्नुभएको छ । उहाँले सालका पातका दुनाटपरी बेचेर राम्रो आम्दानी गर्न थालेको बताउनुभयो । अचेल सावित्रीको दिन जङ्गलबाट सालका पात टिपेर ल्याई मेसिनले दुनाटपरी बनाउनमै बित्ने गरेको छ । 

उहाँ भन्नुहुन्छ, “नगरपालिकाले दिएको तालिमपछि हामी घर बसी बसी आम्दानी गर्न थालेका छौँ ।”उहाँले बनाएको दुनाटपरी अहिले स्थानीय बजार हुँदै अत्तरिया, धनगढीसम्म जाने गर्छ । अहिले उहाँहरूलाई फोनमार्फत दुनाटपरी अर्डर आउन थालेको छ । उहाँहरू अर्डर अनुसार गाडीमा हालेर पठाइदिने गर्नुहुन्छ । दुनाटपरी बनाउने मेसिन नगरपालिकाले सहयोग गरेपछि सावित्रीसँगै अन्य सात महिला यस्तो काममा लागेका छन् । उहाँ खुसी हुँदै मासिक २०/२५ हजार रुपियाँसम्म आम्दानी गर्ने बताउनुहुन्छ । 

घोडाघोडी नगरपालिका–७ का २९ वर्षीय ज्ञानी चौधरीले १२ कक्षासम्म पढ्नुभएको छ । उहाँले बेरोजगार बस्नुभन्दा हातमा सिप भयो भने केही गर्न सकिन्छ भन्ने सोचसाथ सिलाइकटाइ तालिम लिनुभयो । सामान्य लुगाफाटो सिलाउने उहाँले आम्दानी बढाउने उपाय सोच्नुभयो । थारू परम्परागत पोसाक लेहङ्गा बनाउन थालेपछि अहिले उहाँको आम्दानी ह्वात्तै बढेको छ । उहाँ भन्नुहुन्छ, “ब्लाउज, पेटिकोट सिलाउँदा दुई सयसम्ममा सिलाउनु पर्छ । एउटै लेहङ्गा १० हजारसम्ममा किन्छन् । आजभोलि थारू लेहङ्गा बनाएर बेच्न थालेको छु ।”

उहाँले अहिले अडर अनुसार साइज र डिजाइन अनुसार पाँच हजारदेखि १० हजार रुपियाँसम्मको लेहङ्गा बनाएर बेच्नुहुन्छ । आफूले आम्दानी गर्न थालेपछि अहिले घरखर्च तथा खेतीपातीमा लाग्ने खर्चसमेत उहाँले नै दिनुहुन्छ । उत्साहित हुँदै उहाँ भन्नुहुन्छ, “आफूले कमाएर घरमा दिन पाउँदा गर्व लाग्छ । पहिला पहिला आफूलाई केही चाहियो भने पनि श्रीमान्सँग माग्नु पथ्र्यो, अहिले आफैँले कमाउँदा निर्धक्क भएर खर्च गर्छु ।”

केही गर्ने आँट र जाँगर भएका महिलाका लागि विभिन्न सिपमा आधारित तालिम दिएर नगरपालिकाले पनि सहयोग गर्ने गरेको छ । घोडाघोडी नगरपालिकाका रोजगार सहजकर्ता जुगिना चौधरीले नगरपालिकाका विभिन्न वडामा अचार बनाउने, सिलाइकटाइ, दुनाटपरी, घर सजावटका सामग्री बनाउने तालिम दिएको बताउनुभयो ।