ज्योति पन्थी
बबई, (बर्दिया) वैशाख ३० गते । बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्रको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको पाइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्रफलमध्येमा ९२३ बिघा जमिन अतिक्रमण भएको छ । कृष्णसार संरक्षण क्षेत्रको दुई हजार ५५० बिघा क्षेत्रफलमध्ये संरक्षण क्षेत्रभित्र कृष्णसार बसोबास गर्ने स्थानकै रूपमा रहेको ८० बिघा जमिन अतिक्रमण भएको छ ।
राष्ट्रिय निकुन्ज र कृष्णसार संरक्षण क्षेत्रभित्र स्थानीयले पर्यटकीय क्षेत्रको जग्गा अतिक्रमण गरेर घर निर्माण गरेका छन् । सरकारले २०६५ चैत ३ गते विधिवत् रूपमा संरक्षण सुरु गर्दा उक्त स्थानमा बसोबास गर्दै आएका स्थानीयलाई मुआब्जा दिएको भए पनि मुआब्जा पाएकामध्ये कतिपयले उक्त क्षेत्र अहिले पनि छाडेका छैनन्, अतिक्रमण गरेर भोगचलन गरिरहेका छन् । सो क्षेत्र विगत २५ वर्षदेखि अतिक्रमणमा परिरहेको छ ।
कृष्णसार संरक्षण क्षेत्र बर्दियाका सूचना अधिकारी रामु केसीले कृष्णसार संरक्षण क्षेत्रको मुख्य क्षेत्र नै अतिक्रमण भएको बताउनुभयो । २०३२ सालमा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्जसमेत अतिक्रमणको चपेटामा परेको छ । निकुञ्ज क्षेत्रभित्र २०६३ सालदेखि नै अतिक्रमण भएको छ ।
निकुञ्ज कार्यालयले २० वर्षपहिला नै अतिक्रमण भएको तर पछिल्लो समय भने कुनै अतिक्रमण नभएको बताउँदै आएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी सरोजमणि पौडेलले निकुञ्जको स्वामित्वमा रहेको क्षेत्रमा १५ देखि २० वर्षदेखि नै अतिक्रमण भएको बताउनुभयो । उहाँले पुरानो अतिक्रमण भए पनि पछिल्ला दिनमा नयाँ अतिक्रमण नभएको बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले २०३२ सालदेखिको समस्या भएको र बसेका कतिपय स्थानमा सकुमवासी समस्या समाधान आयोगले जमिनसमेत दिइसकेको बताउनुभयो ।
डिभिजन वन कार्यालय बर्दियाले अतिक्रमित वनक्षेत्र खाली गराउन १५ दिने सूचना जारी गरिसकेको छ भने कृष्णसार संरक्षण क्षेत्र र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले भने अतिक्रमित क्षेत्रको विषयमा केही बोलेको छैन ।