• ३० वैशाख २०८३, बुधबार

बरामद २२ लाख ८८ हजारको चिनियाँ मदिरा नष्ट

blog

प्रहरीले बरामद गरेको चिनियाँ मदिरा नष्ट गर्दै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख ३० गते ।
जिल्लाका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरूले बरामद गरेको चिनियाँ मदिरा नष्ट गरिएको छ । अवैध रूपमा जिल्लामा भित्रिएको उक्त मदिरा अन्य विकल्प नभएपछि सरोकारवाला पक्षको रोहबरमा जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार २२ लाख ८८ हजार रुपियाँ बराबरको अवैध चिनियाँ मदिरा सरोकारवाला पक्षको रोहबरमा नष्ट गरिएको हो ।

उक्त मदिरा गत वर्ष कात्तिक ११ गते नाम्खा गाउँपालिका–२ को ढाँडकेर्मीमा ३५१ कार्टुन र कात्तिक २२ गते जिल्लाका अन्य स्थानमा बेवारिसे अवस्थामा २७ कार्टुन बरामद गरिएको थियो । यसरी दुई पटकमा कुल ३७८ कार्टुन चिनियाँ मदिरा बरामद भएको थियो, जसलाई मङ्गलबार नष्ट गरिएको हो ।

एक कार्टुनमा १२ बोतल रहने उक्त मदिराबाट कुल ४ हजार ५३६ बोतल बरामद भएको प्रहरीले जनाएको छ । एक बोतलको बजार मूल्य करिब ५०० रुपियाँ पर्ने र अवैध रूपमा बिक्री–वितरण हुने गरेको बताइएको छ ।

बरामद मदिरा लामो समयसम्म जिल्ला प्रहरी कार्यालयको परिसरमै राखिएको थियो । कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले नष्ट गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ ।

यस अवधिमा मदिराका धनी पहिचान गर्न प्रहरीले प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ । हरेक वर्ष नाम्खा गाउँपालिकाको हिल्सा नाका र चङ्खेली गाउँपालिका–५ को टाँके नाकाबाट अवैध चिनियाँ मदिरा बरामद हुने गरेको छ ।

यस वर्ष हिल्सा नाकाबाट अवैध मदिरा भित्रिन नदिन नेपाल र चिनियाँ सुरक्षा निकायबिच सहमति भएको जनाइएको छ । मदिरा नष्ट गर्ने कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, अनुसन्धान प्रमुख मेघराज कँडेल, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख अंगबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।