अमरराज नहर्की
तनहुँ, वैशाख २९ गते । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्ततः रद्द गरिएको छ । निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडेको हो ।
सडक डिभिजन कार्यालयले निर्माण कम्पनी ‘मृत सञ्जीवनी निर्माण सेवा’ सँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । कार्यालयले गत चैत १७ गते संशोधित डिजाइन स्वीकृत भइसकेको भन्दै १५ दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो । तर उक्त निर्देशनपछि पनि कार्यस्थलमा कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लेखित ‘गम्भीर उल्लंघन’ को प्रावधानअनुसार ठेक्का रद्द गरिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
पुल निर्माणमा भएको चरम ढिलासुस्तीका कारण स्थानीय बासिन्दा लामो समयदेखि आन्दोलित हुँदै आएका थिए । पुल निर्माण संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले निर्माण कम्पनीले जनताको भावनासँग खेलबाड गरेको बताउनुभयो ।
२०७० साल असारमा १० करोड २१ लाख ८६ हजार रुपियाँ लागतमा सम्झौता भएको १०५ मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल ३६ प्रतिशत मात्र रहेको छ ।
यो पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन जान हालको मुग्लिन–डुम्रे सडकभन्दा करिब २५ किलोमिटर दूरी छोटो पर्नेछ । पुल नबनेका कारण यस क्षेत्रका ६–७ वटा साना बस तथा जिपहरू घुमाउने घाटमै रोकिन बाध्य छन् । यात्रुहरू झोलुङ्गे पुल प्रयोग गरी मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुग्ने गरेका छन् ।
सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायीलाई अविलम्ब निर्माण स्थल खाली गर्न तथा बाँकी भुक्तानी भए १५ दिनभित्र हिसाब मिलान (वित्तीय फरफारक) गर्न निर्देशन दिइएको छ । ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको बाँकी काम अघि बढाउने बाटो खुलेको छ । निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो ।