रामकृष्ण बोहरा
बागलुङ, वैशाख २९ गते । स्थानीय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवामा कार्यरत स्रोत व्यक्तिलाई सुत्केरी अवस्थामा हुने रक्तश्राव रोक्ने र महिलाको जीवन बचाउने सम्बन्धी तालिम प्रदान गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय र धौलागिरि प्रादेशिक अस्पतालको आयोजना तथा फेयरमेड र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनामार्फत स्वास्थ्यकर्मीलाई सुत्केरीको ज्यान बचाउने ‘कन्डम टेम्पोनेड’ विधि सिकाइएको हो ।
“एमएनएच अपडेट तालिममार्फत ग्रामीण क्षेत्रका महिलालाई सुत्केरीपछि हुने रक्तश्राव हुँदा कसरी बचाउने र प्रोटोकल अनुसार कुन औषधी प्रयोग गर्ने भन्नेबारे जानकारी दिइएको हो,” परियोजनाका अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलले भन्नुभयो । ‘कन्डम टेम्पोनेड’ विधिमार्फत मातृ मृत्युदर शून्य नजिक पुर्याउने फाउन्डेसनको लक्ष्य रहेको छ ।
धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, स्त्रीरोग विशेषज्ञ डा. विजय ओझा, नर्सिङ अधिकृतहरू देवी भट्टराई, मिलन बरुवाल र अजिता सिलवालले तालिममा सहजीकरण गर्नुभएको थियो । तालिममा सुत्केरीलाई बचाउने ‘कन्डम टेम्पोनेड’ विधिबारे व्यवहारिक अभ्यास समेत गराइएको थियो ।
बागलुङका १० स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोत व्यक्ति र बर्थिङ सेन्टरका अनमीहरू तालिममा सहभागी भएका थिए । शनिबारदेखि सोमबारसम्म चलेको तालिमको पहिलो चरणमा १५ जनाले ‘कन्डम टेम्पोनेड’ विधिबारे जानकारी प्राप्त गरेको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराईले जानकारी दिनुभयो ।
तालिममा सुत्केरी अवस्थामा अत्यधिक रक्तश्राव भएमा ‘कन्डम टेम्पोनेड’ विधिबाट रक्तश्राव रोक्न सकिने र त्यसपछि सुविधा सम्पन्न अस्पतालमा पठाएर उपचार गर्न सकिने प्रोटोकलबारे जानकारी दिइएको डा. किरण तिवारीले बताउनुभयो ।
यो विधि प्रयोग गरी ढोरपाटनस्थित बुर्तिवाङ अस्पतालमा कार्यरत नर्स पार्वती अर्यालले यसअघि ४२ महिलाको ज्यान बचाइसक्नुभएको छ । ‘कन्डम टेम्पोनेड’ विधिलाई स्वास्थ्यकर्मीमाझ विस्तार गर्ने र गर्भवती तथा सुत्केरी महिलालाई समेत जानकारी गराउने उद्देश्यले व्यवहारिक अभ्यास गरिएको डा. विजय ओझाले बताउनुभयो ।
सुत्केरी महिलामा अत्यधिक रक्तश्राव भएमा कन्डममा पानी भरेर पाठेघरमा राख्दा रक्तश्राव नियन्त्रण गर्न सकिने चिकित्सकहरूले बताएका छन् । यो विधिबारे धेरैलाई जानकारी नभएको र भएकाहरूले पनि पर्याप्त प्रयोग नगरेको अवस्थामा तालिममार्फत ज्ञान विस्तार गरिएको हो । “यो विधिबाट सुत्केरीको ज्यान सहजै बचाउन सकिन्छ,” डा. ओझाले भन्नुभयो ।
प्रसुति समयमा अत्यधिक रक्तश्राव रोक्न नसके सुत्केरीको ज्यान तत्काल जोखिममा पर्ने भएकाले यो विधि उपयोगी भएको बताइएको छ । यस विधिबाट अत्यधिक रक्तश्राव भएका महिलालाई २४ घण्टासम्म स्थिर राखी सुविधा सम्पन्न अस्पतालमा पुर्याएर बचाउन सकिने चिकित्सकहरूको भनाइ छ ।