सिराज खान
नेपालगन्ज, वैशाख ३० गते । बाँकेको जानकी गाउँपालिकापछि दोस्रो नम्बरमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो। यसअघि केही दिनअघि मात्रै जिल्लाको जानकी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो।
खोप नलगाएका 'शून्य डोज' का १२ जना बालबालिका र खोप लगाउन छुटेका २७६ जना बालबालिकालाई समेत खोजी गरी घरघरमै पुगेर खोप सेवा प्रदान गरिएपछि नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो। उहाँका अनुसार नेपालगन्ज उपमहानगरभित्रका १५ वर्षमुनिका तीन हजार ४३८ जना र १६ देखि २३ महिनाभित्रका दुई हजार ७३५ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै आवश्यक खोप प्राप्त गरेका छन्।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको जनाउँदै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैको साझा पहलबाट मात्रै यस्तो सफलता मिल्ने स्पष्ट पार्नुभयो। उहाँले समुदायमा खोपसम्बन्धी सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहनुपर्नेमा विशेष जोड दिनुभयो।
नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक कुमारी पुष्पा सिंहको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय, जनस्वास्थ्य निरीक्षकहरू जागेश्वर बस्नेत र तेज ओली लगायतको सहभागिता रहेको थियो।