काठमाडौँ, वैशाख ३० गते । नेपाली सेनाले दुईदिने 'राष्ट्रिय साइबर सुरक्षा गोष्ठी' सम्पन्न गरेको छ । जङ्गी अड्डामा आयोजित उक्त गोष्ठीको प्रधानसेनापति अशोकराज सिग्देलले समापन गर्नुभयो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै विश्वव्यापी रूपमा बढ्दै गएका साइबर चुनौती, डेटा चुहावट तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न सुरक्षा जोखिमलाई मध्यनजर गर्दै गोष्ठी आयोजना गरिएको हो । सरोकारवाला निकायबीच सहकार्य, समन्वय र सम्पर्क विस्तार गर्ने उद्देश्यले सञ्चालित सो कार्यक्रममा विज्ञले साइबर सुरक्षाका विभिन्न पक्षमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोष्ठीमा बदलिँदो प्रविधि र विकसित भइरहेका साइबर जोखिमबारे सहभागीबीच अन्तरक्रिया तथा छलफल भएको थियो । कार्यक्रममा विभिन्न मन्त्रालय, सरकारी निकाय, नेपाली सेना, अन्य सुरक्षा निकाय तथा साइबर सुरक्षासँग सम्बन्धित सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यस गोष्ठीले राष्ट्रिय स्तरमा साइबर सुरक्षासम्बन्धी रणनीति तय गर्न, सुरक्षित प्रविधिको प्रयोगबारे साझा अवधारणा निर्माण गर्न र मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।