गार्डेन राई
सोलु, वैशाख ३० गते । बाढीले बगाएको थामे स्वास्थ्य चौकीको पुननिर्माण कार्य सुरु भएको छ । २०८१ साउन ३२ गते हिमताल फूटेर गएको हिम पहिरोले बगाएको थामे स्वास्थ्य चौकी हिमालयन ट्र्ष्ट नेपालको अगुवाइमा पुनःनिर्माण सुरु भएको हो ।
२०८२ चैत १५ गतेदेखि निर्माण सुरु गरिएको स्वास्थ्यचौकी आगामी २०८३ कात्तिक मसान्तसम्म निर्माण सम्पन्न गरी सेवा सुरु गर्ने लक्ष्य रहेको हिमालयन ट्रष्ट नेपालका अध्यक्ष पासाङ दावा शेर्पाले जानकारी दिनुभयो। स्वास्थ्य चौकी निर्माणका लागि एक करोड ४५ लाख ८० हजार छसय दुई रुपियाँ बजेट लाग्ने अध्यक्ष शेर्पाको भनाइ छ।
सामान ढुवानीमा कठिनाइ रहेको हिमालयन ट्रष्ट नेपालका फिल्ड सुपरभाइजर दिपु शेर्पाले बताउनुभयो । आवश्यक फलामे सामग्रीहरु काठमाडौँबाट सुर्केसम्म गाडीमा र सुर्केदेखि थामेसम्म हेलिकप्टरमार्फत ढुवानी गरिरहेको उहाँको भनाइ छ । यस्तै सिमेन्ट सुर्केदेखि थामेसम्म खच्चडमार्फत ढुवानी गर्नुपर्ने भएकाले भनेको समयमा ढुवानी हुन नसक्ने समस्या रहेको फिल्ड सुपरभाइजर शेर्पा बताउनुहुन्छ ।
थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्थानीय निमा सेर्पिनीले खुम्बु पासाङल्हामु गाउँपालिकाको अनुरोधमा ३५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । जग्गादाता निमा सेर्पिनीले स्वर्गीय श्रीमान् साङ्गेछोतर शेर्पाको सम्झनामा निःशुल्क जग्गा प्रदान गर्नुभएको जग्गादाता शेर्पिनीले बताउनुभयो ।
थामे क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा पुनः सुचारु गर्न करिब ३५ लाख मूल्य बराबरको १ सय ३० वर्ग मिटर जग्गा हिमालयन ट्रस्ट नेपालको नाममा साविक मालपोत कार्यालय सोलुखुम्बुमार्फत निःशुल्क रूपमा राजिनामा गरी हस्तान्तरण गरेको जग्गादाता स्थानीय निमा सेर्पिनीले बताउनुभयो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –५ थामेमा रहेको हिमालयन ट्रस्ट नेपाल अन्तर्गतको खुम्दे हस्पिटलद्वारा सञ्चालित थामे स्वास्थ्य चौकी २०८१ साउन ३१ को बाढीले पूर्ण रूपमा क्षति भएको थियो।
थामे स्वास्थ्य चौकी बाढीले बगाएपछि हिमालयन ट्रस्टले घर भाडामा लिई अस्थायी रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको हिमालयन ट्रस्ट नेपालका संस्थापक सदस्य समेत रहनुभएका डा. कामी तेम्बा शेर्पाले जानकारी दिनुभयो। थामे स्वास्थ्य चौकीमा महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका लगायतलाई हिमालयन ट्रस्ट नेपालले निःशुल्क रूपमा प्राथमिक उपचार गर्दैआएको छ।