• ३१ वैशाख २०८३, बिहिबार

आगलागीबाट १६ लाख बराबरको क्षति

blog

आगो नियन्त्रण गर्नुहुँदै नेपाली सेना र नेपाल प्रहरीका जवान । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, वैशाख ३१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६, हाफाबुङमा आगलागी हुँदा घर जलेर पूर्णरूपमा नष्ट भएको छ । बिहीबार बिहान करिब ८ बजे स्थानीय रामकुमार लिम्बूको काठ, ढुङ्गा, माटो तथा टिनले छाएको तीन तले घरमा आगलागी भएको थियो ।  

घरको माथिल्लो कोठामा ६ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउँदा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट तीन तले घर पूर्णरूपमा जलेर नष्ट भएको छ। 

साथै, आगलागीबाट करिब १६ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । आगो प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त प्रयासमा पूर्णरूपमा नियन्त्रणमा लिइएको छ ।