• ३१ वैशाख २०८३, बिहिबार

हुम्लाको सिमकोट–हिल्सा मार्ग हुँदै मानसरोवर यात्रा

blog

यस वर्ष पहिलो पटक सिमकोट विमानस्थल पुगेका भारतीय पर्यटकहरूलाई खादा लगाएर स्वागत गरिँदै । तस्बिर: राजन रावत ।

राजन रावत

हुम्ला, वैशाख ३१ गते । यस वर्षको मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटकहरू आउने क्रम बुधबारदेखि सुरु भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै नेपालगन्जबाट हवाई मार्ग हुँदै सदरमुकाम सिमकोट पुग्ने र त्यहाँबाट हिल्सा हुँदै चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न जाने पर्यटकहरूको चहलपहल सुरु भएको हो ।

यस वर्ष मानसरोवर कैलाश दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकहरूको पहिलो समूह नेपालगन्जबाट हवाई मार्ग हुँदै सिमकोट आइपुगेको प्रमुख जिल्ला अधिकारी टेकुराज रेग्मीले बताउनुभयो । पहिलो दिन जहाजमार्फत २५ जना भारतीय धार्मिक पर्यटक सिमकोट आइपुगेका छन् । पहिलो टोलीलाई सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रजिअ रेग्मीले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

सिमकोटबाट हिल्साका लागि हेलिकोप्टर उडानसमेत सुरु भएको छ । यसका लागि हेलिकोप्टरहरूले सिमकोट विमानस्थलमै 'नाइट स्टे' गर्न  थालेका छन् । भारतले लिपुलेक हुँदै पर्यटक लैजाने विषयमा संशय भइरहेका बेला हुम्लाको सिमकोट र हिल्सा हुँदै मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भएपछि हुम्लाका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।

यसबाट हुम्लाको होटल व्यवसाय, कृषक, भरिया र यातायात व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ । पर्यटन व्यवसायीका अनुसार यस वर्ष १५ हजारभन्दा बढी भारतीय पर्यटकले सिमकोट–हिल्सा मार्ग हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने गरी बुकिङ भइसकेको छ ।

वि.सं. २०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटकहरू आउन सुरु भएको थियो । बिचमा कोरोना महामारीका कारण हिल्सा नाका बन्द हुँदा पर्यटकको आवागमन पनि रोकिएको थियो । गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्सा भएर मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि चार महिनाको अवधिमा छ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए ।