नवीनराज कुइँकेल
लमजुङ, बैशाख ३१ गते । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ७ अर्ब ५० करोड रुपियाँ ऋण लगानी गर्ने सम्झौता भएको हो ।
आयोजनामा सिटिजन्ससहित प्रभु बैंक, नेपाल एसबिआई बैंक र एनआइसी एसिया बैंकले मिलेर उक्त परिमाणको ऋण लगानी गर्ने भएका हुन् । काठमाडौंमा एक समारोहबिच प्रवर्धक दिव्यज्योति हाइड्रोपावर लिमिटेड र बैंकहरूबिच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा ८ र ९ र बेसीसहर नगरपालिकाको वडा ६ र १० मा निर्माण हुने आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपियाँ अनुमान गरिएको छ । आयोजनामा ६७ प्रतिशत ऋण र ३३ प्रतिशत स्वपुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजनामा प्रवर्धकले ३ अर्ब ८० करोड रुपियाँ स्वपुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । प्रभावित क्षेत्रका करिब पन्ध्र सय स्थानीयले ६० करोड रुपियाँ शेयर लगानी गरेका आयोजनाका ब्यवस्थापक उमेश नेपालले जानकारी दिनुभयो ।
आयोजनाको कर्मचारी आवास गृहको साथै पानी थेग्राउने डिसेन्डरको निर्माण भइरहेको छ । आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसअनुसार हिउँदमा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट घन्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली आयोजनाको विद्युत् गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडेर राष्ट्रिय ग्रिडमा प्रवाह गरिने छ ।
२०७५ भदौ १० गते विद्युत् खरिद बिक्री सम्झौता भएको आयोजनाले उत्पादन अनुमतिपत्र भने २०७४ असोज १ गते प्राप्त गरेको थियो । आयोजना ३० महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको दिव्यज्योति हाइड्रोपावरका निर्देशक सञ्जीव न्यौपानेले जानकारी दिनुभयो ।
ऋण लगानी सम्झौता समारोहमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्की, दिव्यज्योति हाइड्रो पावरको प्रवर्धक मातृ कम्पनी अपि पावर कम्पनीका संस्थापक गुरुप्रसाद न्यौपाने, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, दिब्यज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतिस न्यौपाने, निर्देशक सञ्जीव न्यौपाने लगायतले मन्तब्य राख्दै मुलुकलाई नै समृद्ध बनाउन ठुला जलविद्युत आयोजनाहरुको निर्माण हुन जरुरी रहेको बताउनुभयो ।