गोकर्ण पौडेल
तुलसीपुर, वैशाख ३१ गते । तुलसीपुर उपमहानगरपालिका–१२, शीतलपुरमा कृषि हाटबजार सञ्चालनमा ल्याइएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले शुक्रबार एक समारोहका बिच उक्त हाटबजारको उद्घाटन गर्नुभएको हो ।
नगर प्रमुख खड्काले तुलसीपुरको दक्षिण भेगमा पर्ने वडा नं. ११, १२, १३, १४ र १५ का किसानले उत्पादन गरेका वस्तुको बिक्री–वितरण सहज बनाउन बबई नदीको तटवर्ती क्षेत्रमा कृषि हाटबजार सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय र प्रदेश सरकारको संयुक्त लगानीमा यो बजारको पूर्वाधार निर्माण गरिएको हो । नगर प्रमुख खड्काले पालिकाको दक्षिणतर्फ शीतलपुर, पूर्वतर्फ ग्वार खोलाको तट र बजार क्षेत्रलाई लक्षित गरी पातु खोलाको तटमा पनि कृषि हाटबजार निर्माण गरिएको जानकारी दिनुभयो ।
वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीले यस क्षेत्रलाई कृषिको 'पकेट क्षेत्र' का रूपमा विकास गरिएकाले किसानको हितका लागि हाटबजार सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले किसानको उत्पादन सिधै उपभोक्ताको हातसम्म पुर्याउन मद्दत गर्ने छ ।” राप्ती राजमार्गको छेउमै अवस्थित भएकाले यो बजार भविष्यमा राजमार्ग केन्द्रित कृषि बिक्री केन्द्रका रूपमा स्थापित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
हाटबजारको पहिलो दिन किसानहरूले आलु, लौका, करेला, फर्सी, गोलभेंडा, भिन्डी लगायतका तरकारीका साथै विभिन्न कृषि औजारहरू बिक्रीका लागि राखेका थिए ।