• ३१ वैशाख २०८३, बिहिबार

गौरवका आयोजना सम्पन्न गर्न सुझाव

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै सांसद पद्मा अर्याल । तस्बिरः सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३१ गते । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आज वार्षिक नीति तथा कार्यक्रममा संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । देशको आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिक बनाउन र सोही अनुसारको वातावरण बनाउन सुझाव दिनुभयो । 

भूमिहिनहरूलाई व्यवस्थित गरेपछि बस्तीबाट हटाएको भए उचित हुने सुझाव दिनुहुँदै उहाँले भूमिहिनको व्यवस्थापनको चुनौति रहेको बताउनुभयो । गरिब जनताको आधारभूत आवश्यकता उपलब्ध गराउनमा सरकार सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

मुलुकबाट गरिबी हटाउन स्पष्ट कार्ययोजनाको खाँचो रहेको बताउँदै उहाँले सहकारीको दीर्घकालीन समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । विदेशिने युवाको सन्दर्भमा व्यवस्थापनको स्पष्ट योजना नीति तथा कार्यक्रममा सम्बोधन नआएको बताउँदै उहाँले युवालाई स्वरोजगार बनाउनेतर्फ ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । 

आन्दोलनका क्रममा जनधनको क्षति भएको र त्यसको क्षतिपूर्तिबारेमा नीति तथा कार्यक्रम मौन रहेको बताउँदै उहाँले त्यसमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । सरकार सफल होस् भन्नेमा आफूहरू रहेको बताउँदै उहाँले सरकार सफल भए देश पनि सफल हुने चर्चा गर्नुभयो । संविधानको मर्म अनुरूप जनताको समस्या समाधानमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।