• ३१ वैशाख २०८३, बिहिबार

जिल्ला समन्वय समितिका प्रमुख लामा पदमुक्त

blog

पदमुक्त हुनुभएका जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा ।

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख ३१ गते । निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामालाई पदमुक्त गरेको छ । दल त्याग गरेका कारण आयोगले लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो ।

दल त्याग वा परिवर्तन गरेका जनप्रतिनिधिलाई पदमुक्त गरिएको निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गरी जानकारी गराएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट लामा जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुनुभएको थियो । 

एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) लगायतले पार्टी एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी बनाएपछि लामाले दल त्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुँदाको दलहरु एकीकरण पछिको नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध नभइ एमालेमा प्रवेश गरेका कारण लामाको पद गुमेको हो ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गर्नेलाई पदमुक्त गरेको जनाएको छ । लामा जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिका अध्यक्षसमेत रहनुभएको थियो ।