• ३१ वैशाख २०८३, बिहिबार

ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित

blog

नयाँदिल्ली, वैशाख ३१ गते । भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको भारतले निन्दा गरेको छ । भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्य पुर्व द्वन्द्वको बिचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट परेको छ ।

विज्ञप्ति जारी गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले होर्मुजको जलक्षेत्रमा व्यापारिक जहाज माथि निरन्तर लक्षित गरेकोमा भारतले खेद व्यक्त गरेको बताउनुभएको छ । विज्ञप्तिमा ओमानको तटमा भारतीय जहाजमा भएको आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै व्यवसायिक ढुवानीलाई लगातार लक्षित गरि गरिएको आक्रमणको निन्दा गरिएको छ ।

ओमानका अधिकारीले गरेको उद्धार प्रयास पछि जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्य सुरक्षित रहेको मन्त्रालयले पुष्टि गरेको छ । जहाजमा रहेका सबै भारतीय चालकदलका सदस्य सुरक्षित उद्धार गरेकोमा ओमानी अधिकारीहरूलाई विज्ञप्तिमार्फत धन्यवाद दिएको छ । भारतले होर्मुजको अन्तर्राष्ट्रिय जल क्षेत्रमा सञ्चालन हुने सामुद्रिक व्यापार मार्ग र नागरिक कर्मचारीको सुरक्षा सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएको छ ।

भारतले व्यावसायिक ढुवानीलाई लक्षित गर्ने र निर्दोष चालक दलका सदस्यलाई खतरामा पार्ने, र वाणिज्यको स्वतन्त्रतामा बाधा पुर्याउने कार्य यथासिघ्र रोक्नु पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । खाडी क्षेत्रमा बढ्दो तनाव र प्रमुख अन्तर्राष्ट्रिय जल क्षेत्र नजिकै समुद्री सुरक्षामा बढेको चिन्ताकोबिचमा यो घटना भएको हो ।

यस अघि युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले संयुक्त अरब इमिरेट्सको तट नजिकै एउटा जहाज जफत भएको रिपोर्टसहित खाडी क्षेत्रमा समुद्री सुरक्षा घटनाको रिपोर्ट गरेको थियो । जहाजको कम्पनी सुरक्षा अधिकारी (सिएसओ)ले जहाजमा अनधिकृत व्यक्तीहरू चढी  कब्जा गरिएको र पछि इरानी क्षेत्रीय जलतर्फ गइरहेको जानकारी दिएको छ ।

युकेएमटीओले संयुक्त अरब इमिरेट्सको फुजैराहको उत्तरपूर्वमा ३८ एनएमको घटनाको रिपोर्ट प्राप्त गरेको जनाएको छ । युकेएमटिओले घटनाको अनुसन्धान जारी रहेको र यस क्षेत्रमा सञ्चालित जहाजलाई सतर्क रहन र कुनै पनि संदिग्ध गतिविधिको रिपोर्ट गर्न सल्लाह दिएको छ । रासस/एएनआई