यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), वैशाख ३१ गते । बर्दियाकोे घरेलु तथा साना उद्योग कार्यालयको भवन निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ । निर्माण कम्पनीले समयमा निर्माण नगर्दा भवन अलपत्र परेको छ । कार्यालय वार्षिक तीन लाख ६० हजार घरभाडा तिरेर बस्न बाध्य छ ।
गुलरियामा रहेको अमन कन्स्ट्रक्सनले २०७७ फागुनमा भवन निर्माणको जिम्मा पाएको थियो । २०७८ असारसम्म काम सक्नेगरी ६० लाख ८८ हजार रुपियाँमा निर्माण जिम्मा लिए पनि पाँच वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन । तीन तला भवन निर्माण गर्नुपर्ने भए पनि एक तला मात्र ढलान गरेको छ ।
हालसम्म काम गरेबापत भ्याटसहित ३४ लाख ४५ हजार रकम भुक्तानी लगिसकेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख इन्द्रराज खत्रीले हरेक हप्ता ताकेता र पत्र पठाउँदा समेत निर्माण कम्पनीले भवन निर्माणको कार्य सम्पन्न नगरेको बताउनुभयो ।
उहाँले तेस्रो पटक थपेको म्याद समेत सकिएको बताउँदै अब ठेक्का रद्द गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो । पछिल्लो समयमा निर्माण कम्पनी नै सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
समयमै नयाँ भवनमा सर्ने तयारी गरे पनि भवन निर्माण नभएपछि चर्को भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ । कार्यालय प्रमुख खत्रीका अनुसार मासिक ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ । उहाँले भन्नुभयो, “एकातर्फ निर्माण कम्पनीले भवन निर्माण अलपत्र पारेको छ, अर्कोतर्फ मासिक ३० हजार वार्षिक तीन लाख ६० हजार भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ ।”