• १ जेठ २०८३, शुक्रबार

बेनीघाट–आरुघाट–लार्के सडक दुई दिन बन्द

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ १ गते ।
गोरखा को उत्तरी भेगको ‘लाइफलाइन’का रूपमा परिचित बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउली खोला खण्ड दुई दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ ।

न्याउली खोलामा निर्माणाधीन मोटरेबल पुलको कामलाई तीव्रता दिन सडक बन्द गरिएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो ।

“जेठ १ र २ गते उक्त सडकखण्डमा सवारी आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ,” प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, “पुल निर्माणका क्रममा ढुंगा, माटो फिलिङ तथा अन्य प्राविधिक काम गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको हो ।”

धार्चे गाउँपालिका ले सूचना जारी गर्दै सडक बन्द अवधिमा दुईपाङ्ग्रे, चारपाङ्ग्रेसहित सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

यसबाट धार्चे, चुमनुब्री गाउँपालिका लगायत उत्तरी भेगका स्थानीयवासी, यात्रु तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा असहजता हुने भन्दै गाउँपालिकाले क्षमासमेत मागेको छ ।

गाउँपालिकाले अत्यावश्यक कामबाहेक उक्त अवधिमा यात्रा नगर्न तथा वैकल्पिक व्यवस्था मिलाउन सर्वसाधारणलाई आग्रह गरेको छ । पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने जोखिम कम भई यातायात सेवा थप सहज र सुरक्षित बन्ने विश्वास गाउँपालिकाले लिएको छ ।