रामकृष्ण बोहरा
बागलुङ, जेठ १ गते । बागलुङ स्थित धौलागिरि प्रादेशिक अस्पताल मा एक लाख लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण हुने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाख रुपियाँ लागतमा उक्त ट्याङ्की निर्माण गरिने भएको हो ।
खानेपानी ट्याङ्की निर्माणका लागि धौलागिरि प्रादेशिक अस्पताल र रोटरी क्लब अफ बागलुङबिच बुधबार सम्झौता भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा र क्लबका अध्यक्ष नारायणप्रसाद गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको अस्पतालका पूर्वअध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो ।
बढ्दो बिरामी चाप र विशिष्टिकृत सेवा विस्तारसँगै अस्पतालमा पानीको अभाव नहोस् भन्ने उद्देश्यले ट्याङ्की निर्माण गर्न लागिएको हो । ओभरहेड ट्याङ्की बनेपछि अस्पतालमा आवश्यक पानी आपूर्ति सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। किरण तिवारीले बताउनुभयो ।
अस्पतालमा पानी आपूर्ति सहज बनाउन अमेरिकास्थित रोटरी क्लब अफ सुसिट्ना (अलास्का) र रोटरी डिस्ट्रिकको साझेदारीमा परियोजना अघि बढाइएको क्लबका अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य कार्यान्वयनमा जानेछ ।
सम्झौतामा अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू कृष्णबहादुर केसी, केबी रानामगर, सदस्य लक्ष्मी बाँस्कोटा, शालिकग्राम शर्मा, मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी र क्लबका आगामी अध्यक्ष पुनमप्रसाद शर्माको उपस्थितिमा परियोजना संयोजक दिपेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको धाराको पानी पर्याप्त नभएपछि पाँच वर्षअघि सामाजिक विकास मन्त्रालयको ४० लाख रुपैयाँ बजेटमा डिप बोरिङ प्रविधिबाट अस्पतालले पानी आपूर्ति गर्दै आएको छ ।
बोरिङ गरिएको पानी अब ओभरहेड ट्याङ्कीमा संकलन गरी वितरण गरिनेछ । परियोजनाले अस्पतालको खानेपानी आपूर्ति प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । यस संरचनाबाट वार्षिक करिब २ लाख ७० हजार बिरामी तथा अस्पतालका कर्मचारी लाभान्वित हुने लक्ष्य राखिएको छ ।
सम्झौताअनुसार अन्तर्राष्ट्रिय साझेदार संस्थासँग समन्वय, बोलपत्र प्रक्रिया सञ्चालन, निर्माण अनुगमन तथा पारदर्शिता सुनिश्चित गर्ने जिम्मेवारी पनि उल्लेख गरिएको छ ।
अस्पतालले ट्याङ्की निर्माणका लागि स्थान उपलब्ध गराउने, डिप बोरिङ प्रणाली सञ्चालनमा राख्ने र परियोजना सम्पन्न भएपछि संरचनाको स्वामित्व ग्रहण गर्नेछ । साथै, दीर्घकालीन सञ्चालन, मर्मत तथा सुधार कार्यको जिम्मेवारी अस्पताल व्यवस्थापन समितिले वहन गर्ने सम्झौतामा उल्लेख छ ।