हेटौँडा समाचारदाता हेटौँडा, जेठ १ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तिनै तहका सरकारबिच सहकार्य र समन्वय गरेर विपत् व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार हेटौँडामा आयोजित ‘बागमती प्रदेशमा हुन सक्ने विपत्जन्य घटना र त्यसको रोकथाम तथा व्यवस्थापनको पूर्वतयारी’ सम्बन्धी कार्यक्रिममा बोल्दै उहाँले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय तहसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीहरूले विपत् व्यवस्थापनमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले प्रदेशका जिल्लामा विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी तथा स्रोतसाधन व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका प्रहरी भवन तथा सवारीसाधन पुनस्र्थापनाका लागि प्रदेश सरकारले भौतिक संरचना निर्माण र सवारीसाधन व्यवस्थापनमा सहयोग गरेको जानकारी दिनुभयो । प्रदेश सरकारले समन्वयकारी भूमिकामा काम गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीय तहसँग सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
प्राकृतिक विपत्का कारण हेटौँडा–काठमाडौँ सडकखण्ड अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उहाँले वैकल्पिक मार्गको तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले कान्ति लोकपथमार्फत ठुला सवारीसाधन तथा हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी र हेटौँडा–कुलेखानी–हुमाने सडकखण्डमार्फत साना सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
कार्यव्रmममा बागमती प्रदेश अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश तथा जिल्ला सुरक्षा समितिका पदाधिकारी र विभिन्न सुरक्षा निकायका प्रमुखले आआफ्ना जिल्लाको विपत् पूर्वतयारी, उपलब्ध सामग्री, वर्तमान अवस्था र भावी रणनीतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।