• १ जेठ २०८३, शुक्रबार

रौतहटमा एचआइभी सङ्क्रमितको सङ्ख्या उच्च

blog

यादवराज पुरी
रौतहट, जेठ १ गते ।
रौतहटमा एचआइभी/एड्स सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

उक्त सङ्ख्याका सङ्क्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिभन्दा जिल्लामै कार्यरत चालक, प्रहरी तथा मजदुरमा सङ्क्रमण बढी देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका एआरटी अधिकारी राजकुमार साहका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित राजपुर नगरपालिकामा भेटिएका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको उक्त पालिकामा ६३ जना सङ्क्रमित  छन् ।

कार्यालयको तथ्याङ्कअनुसार चन्द्रपुर नगरपालिकामा ३७, गौर र इशनाथ नगरपालिकामा ३५/३५, राजदेवी नगरपालिकामा २५ तथा गुजरा, कटहरिया, देवाही गोनाही, बौधीमाई र दुर्गा भगवती नगरपालिकामा २०र२० जना सङ्क्रमित रहेका छन् । जिल्लाका सबै पालिकामा एचआइभी सङ्क्रमित भेटिएका छन् ।

प्रादेशिक अस्पताल गौरका डाक्टर शशी गुप्ताले एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, सङ्क्रमित सुई तथा सिरिन्जको प्रयोग र सङ्क्रमित आमाबाट शिशुमा सर्न सक्ने बताउनुभयो । उहाँका अनुसार नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा कण्डमको प्रयोगबाट सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ । संक्रमित व्यक्तिले नियमित रूपमा एआरटी सेवा लिए सामान्य जीवनयापन गर्न सक्ने उहाँले बताउनुभयो ।

एचआइभी सङ्क्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार तथा कण्डमको सही प्रयोग आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा कण्डम प्रयोग गर्नेको सङ्ख्या बढे पनि यसको सही प्रयोगबारे पर्याप्त जनचेतनाको अभाव रहेकाले संक्रमितको सङ्ख्यामा कमी नआएको चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीले बताउनुभयो ।