• १ जेठ २०८३, शुक्रबार

दिदी समूहबाट बहिनी समूहलाई बाख्रा उपहार

blog

सुजल श्रेष्ठ

प्यूठान, जेठ १ गते । आयआर्जनमा वृद्धि गरी कृषि तथा पशुपालनमा व्यावसायिकता ल्याउने उद्देश्यले तीन वर्षअघि प्यूठानको ऐरावती गाउँपालिका–३ काउलेमा गठित स्वावलम्बी महिला समूहले अर्को समूहलाई बाख्रा उपहार दिएको छ । 

२० जना सदस्य रहेको उक्त समूहले दुई वर्षअघि आयआर्जनका लागि बाख्रा प्राप्त गरेको थियो । ऐरावती गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनामार्फत प्राप्त बाख्राबाट उत्पादन भएका बाख्राहरू अहिले 'बहिनी समूह' लाई उपहारस्वरूप प्रदान गरिएको हो ।


काउले स्वावलम्बी महिला समूहका अध्यक्ष कमला थापाका अनुसार ऐरावती गाउँपालिका–३ कै सुनगाभा स्वावलम्बी महिला समूह जावुनेलाई १८ वटा बाख्रा उपहार दिइएको हो । 

समूहका १८ जना सदस्यले एक–एकवटाका दरले बाख्रा उपहार प्रदान गरेका हुन् । उपहार प्राप्त गरेपछि सुनगाभा स्वावलम्बी महिला समूहका अध्यक्ष गीता गुरुङले आफ्नो समूहले पाएको बाख्राबाट थप आयआर्जन गर्दै आगामी दिनमा अन्य बहिनी समूहलाई पनि यसैगरी उपहार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिलाहरूको आयआर्जन वृद्धि गर्न परियोजनाले गरेको कामबाट प्रभावित भएर आफूहरू समूहमा आवद्ध भई क्रियाशील रहेको उहाँले बताउनुभयो ।

हाल ऐरावती गाउँपालिकाका सबै ६ वटा वडामा ६६ वटा समूह गठन गरिएको छ । ऐरावती गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले यस परियोजनाको सहजीकरण गरिरहेको कार्यक्रम संयोजक नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार यो परियोजना २०७९ माघ १६ गतेदेखि लागू भएको हो । ४८ महिने यस परियोजनाका लागि गाउँपालिकाले चार करोड ९० लाख र हेफर प्रोजेक्ट नेपालले दुई करोड १० लाख रुपियाँ लगानी गर्ने सम्झौता अनुसार काम भइरहेको उहाँले बताउनुभयो । 

परियोजना सञ्चालनमा आएपछि गाउँपालिका खसीबोकामा आत्मनिर्भर भएको र अहिले यहाँबाट बाहिर निर्यात समेत हुन थालेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।