• १ जेठ २०८३, शुक्रबार

सल्यानका वडाध्यक्ष आधारभूत सेवाको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्नामा

blog

मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बस्नुभएका सलयान कालिमाटी, ७ का वडाध्यक्ष मित्रलाल रिजाल र स्थानीय युवा । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, जेठ १ गते ।आधारभूत सेवाको माग राख्दै  सल्यानको कालिमाटी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना सुरु गर्नुभएको छ ।

वर्षौंदेखि सडक, मोबाइल नेटवर्क र विद्युतजस्ता आधारभूत सेवाबाट वञ्चित बनेका नागरिकको समस्या लिएर वडा अध्यक्ष सडक सङ्घर्षमा उत्रिनुभएको हो ।

उहाँ शुक्रबार बिहान ८ बजेदेखि सुर्खेत स्थित मुख्यमन्त्री कार्यालय अगाडि शान्तिपूर्ण धर्नामा बस्नुभएको हो ।बुधबार साँझ सुर्खेत पुग्नुभएका रिजालले बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर विभिन्न अत्यावश्यक योजना र जनजीवनसँग प्रत्यक्ष जोडिएका माग कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

 तर मागप्रति ठोस प्रतिबद्धता नआएपछि आफू बाध्य भएर धर्नामा बस्नुपरेको उहाँले बताउनुभएको छ ।“हामीले वर्षौंदेखि दुःख पाएका छौँ । पटकपटक मन्त्रालय धायौँ, आग्रह गयौँ, तर सुनुवाइ भएन । अब माग पूरा नभएसम्म धर्नाबाट उठ्दिनँ,” वडाध्यक्ष रिजालले भन्नुभयो ।

वडावासीको मुख्य मागमध्ये पहिलो घैयाबारी–स्वामीबास–बबई–चेपाङ सडकको स्तरोन्नति तथा कालोपत्रे रहेको छ ।स्थानीयका अनुसार उक्त सडक अत्यन्त जीर्ण र जोखिमपूर्ण अवस्थामा छ ।

वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध हुने भएकाले करिब तीन महिनासम्म कुनै पनि सबारीसाधन सञ्चालन हुन सक्दैन ।सडकको दयनीय अवस्थाले कालिमाटी गाउँपालिका वडा नं। ७, ६ र ५ का करिब एक हजार तीन सय घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । 

बिरामीलाई अस्पताल पुर्‍याउन, दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउनसमेत ठूलो समस्या हुने गरेको स्थानीय बताउँछन् ।

वडाध्यक्ष रिजालले सडक समस्या समाधानका लागि पटकपटक कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयमा पहल गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

त्यस्तै उहाँले वडा नं.७ मा प्रभावकारी मोबाइल नेटवर्क सेवाका लागि नेपाल टेलिकमको टावर स्थापना गर्न पनि माग गर्नुभएको छ ।

हाल उक्त क्षेत्रमा कुनै पनि मोबाइल सेवा प्रभावकारी नरहेको स्थानीयको भनाइ छ ।मोबाइल नेटवर्क नचल्दा फोन सम्पर्क, इन्टरनेट सेवा, अनलाइन अध्ययन तथा सरकारी सेवासमेत प्रभावित भएको छ ।

अहिलेको प्रविधिको युगमा समेत सञ्चार सेवाबाट वञ्चित हुनुपर्दा स्थानीयले ठूलो सास्ती बेहोर्नुपरेको उहाँको भनाइ छ ।

अन्य निजी सेवा प्रदायक कम्पनीहरूको नेटवर्कले समेत राम्रोसँग काम नगर्ने भएकाले वडा नं.७ को उपयुक्त स्थानमा नेपाल टेलिकमको टावर निर्माण गर्नुपर्ने माग रहेको छ ।

यसैगरी वडा नं, ७ मा पूर्ण विद्युतीकरणको मागसमेत गरिएको छ ।विद्युत विस्तारका लागि पोल गाड्ने र तार तान्ने काम भएको करिब सात वर्ष बितिसक्दा पनि योजना सम्पन्न हुन सकेको छैन । स्थानीयका अनुसार विद्युत विस्तारका संरचना अलपत्र अवस्थामा छन् भने योजना अस्तव्यस्त बनेको छ । 

हालसम्म वडा नं.७ का पाँच  सयभन्दा बढी घरधुरी विद्युत सेवाबाट वञ्चित रहेका छन् ।गिद्देखोलामा निर्माणाधीन पुल अलपत्र परेको विषय पनि स्थानीयहरुले उठाएका छन् । प्रदेश सरकारको योजना अन्तर्गत गत वर्ष पुलका पीलर ठड्याइए पनि त्यसपछि निर्माण कार्य अघि नबढ्दा योजना अस्तव्यस्त बनेको छ ।

 वडाध्यक्ष रिजालले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गर्नुभएको छ ।अन्य विभिन्न खोलाहरूमा समेत पुल तथा कल्भर्ट निर्माण आवश्यक रहेको उहाँको भनाइ छ । धर्नामा उहाँलाई स्थानीय युवाले पनि साथ दिएका छन् ।