गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै गत चैत १३ गते गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीले कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नुभएको हो । सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ वटा कायम गरिएको छ ।
प्रधानमन्त्री शाहले गृह, रक्षा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफैँ राख्नुभएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीले सुरुदेखि नै आफैँले राख्नुभएको छ भने गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएपछि कसैलाई जिम्मेवारी दिनुभएको छैन । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ रहनुभएको छ ।
पूर्वाधार विकासमन्त्रीमा सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्रीमा सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीमा निशा मेहता रहनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा खड्गराज पौडेल, सूचना तथा सञ्चारमन्त्रीमा डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्रीमा गीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरी कुमारी र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव हुनुभएको छ ।