राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), जेठ १ गते । स्याङ्जा का सबै स्थानीय तहले आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका छन् । जिल्लाका ११ वटै पालिका पूर्णखोप सुनिश्चित घोषणा भएका हुन् ।
बालबालिकालाई सम्पूर्ण खोप प्रदान गरेपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार ११ वटै पालिकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् भन्ने प्रतिबद्धतासहित काम गरिरहेका छन् ।
जिल्ला सदरमुकाम रहेको पुतलीबजार नगरपालिका मा १६ देखि २३ महिनासम्मका ४८१ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका छन् । त्यसैगरी वालिङ नगरपालिका मा ४०६, गल्याङ नगरपालिका मा ३०५, चापाकोट नगरपालिका मा १९४ र भीरकोट नगरपालिका मा २१३ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका छन् ।
त्यस्तै अर्जुनचौपारी गाउँपालिका मा ११३, हरिनास गाउँपालिका मा ८२, आँधीखोला गाउँपालिका मा ८३, कालीगण्डकी गाउँपालिका मा २१७, बिरुवा गाउँपालिका मा ११३ र फेदीखोला गाउँपालिका मा ८९ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाभरका दुई हजार २९६ जना बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि जिल्ला नै पूर्णखोप सुनिश्चित भएको प्रमुख नेपालीले बताउनुभयो ।
बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो, प्रभावकारी र निरन्तर बनाउने उद्देश्यले पालिका र प्रदेश जनस्वास्थ्य कार्यालय मिलेर काम गरिरहेको उहाँको भनाइ छ ।