• १ जेठ २०८३, शुक्रबार

पाठ्यक्रममा पत्रकार आचारसंहिता

blog

पत्रकारिता तथा आमसञ्चार शिक्षा लोकतान्त्रिक समाजमा सूचनाको प्रवाह, जनमत निर्माण तथा उत्तरदायी शासनका लागि महत्वपूर्ण आधार हो । यस शिक्षाले पत्रकारिता र आमसञ्चारका सैद्धान्तिक विवेचनाका साथै व्यावहारिक सिप र कौशलता अभिवृद्धिमा समेत भूमिका निर्वाह गर्दै आइरहेको छ । पत्रकारिता केवल ‘पढेर मात्र होइन परेर पनि जानिने’ पेसा हो । यस विषयको प्राज्ञिक अध्ययनले पत्रकारिता गर्नेहरूका लागि पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रम र पत्रकार आचारसंहिताबिचको सम्बन्ध र आचारसंहिता प्रवर्धनमा पाठ्यक्रमको भूमिकाबारे विश्लेषण गर्ने क्षमतासमेत विकास गर्छ । 

प्रेस काउन्सिल नेपालले पत्रकार महासङ्घसमेतको सहमतिमा जारी गरेको पत्रकार आचारसंहिता र विश्वविद्यालयस्तरका पत्रकारिता पाठ्यक्रमको तुलनात्मक अध्ययन र अनुसन्धानबाट नै यसमा रहेका कमीकमजोरी सुधार गरी अघि बढ्न सहयोग पुग्ने छ । पत्रकारिताका पाठ्यक्रममा मिडिया नैतिकता शिक्षाको अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आंशिक पहिचान गरिएको छ, तर यो पर्याप्त देखिँदैन । पाठ्यक्रममा नैतिकताको विषय समावेश भए पनि व्यावहारिक कार्यान्वयनमा कमजोरी छ, जसका कारण पत्रकारिता पेसाको विश्वसनीयता क्रमशः क्षयीकरण हुँदै गइरहेको हो । 

प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएको आचारसंहिताले पत्रकार र सञ्चार माध्यमका लागि नैतिक मापदण्ड तय गरेको छ । पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रमले यी आचारसंहितालाई पर्याप्त रूपमा समेटेको र यसले प्रभावकारी रूपमा आचारसंहिता प्रवर्धन गरेको भने पाइँदैन । पछिल्ला दिनमा यस्ता विषयमा खासै ध्यान नदिँदा नागरिकका तर्फबाट मिडिया क्षेत्रमा गम्भीर प्रश्न उठाउन थालिएको छ । सञ्चार क्षेत्रले त्यसको भरपर्दो ढङ्गको जवाफ दिन सकेको छैन । समाजमा स्वस्थ सूचना प्रवाह गर्नुपर्ने सञ्चार माध्यम अस्वस्थ प्रतिस्पर्धामा नउत्रिउन् भनेर स्वस्थ प्रतिस्पर्धा र विकासका लागि पत्रकार आचारसंहिता ल्याइएको हो ।

पत्रकार आचारसंहिता उत्पादन र विकासका सन्दर्भमा नेपाल अन्य देशभन्दा अग्रणी नै देखिन्छ । गोरखापत्र प्रकाशन गर्नुअघि विसं १९५८ वैशाख ११ गते जारी गरिएको सनद र त्यहाँ उल्लेख विषयले पत्रकार आचारसंहितामा नेपालको गाभ्यीर्यता राणाकालमै उच्च भएको देखाउँछ । 

विश्व इतिहासमा विकसित पत्रकार आचारसंहितासँग तुलना गर्दा सनदले समाचार सत्य, तथ्यपरक र विश्वसनीय हुनुपर्ने, असत्य सूचना, अफवाह तथा सामाजिक सद्भाव बिग्रने सामग्री प्रसारण गर्न नहुने, राज्यका गोप्य सूचना बाहिर लैजान नहुने विषयमा जोड दिएको छ । जिम्मेवार सूचना सम्प्रेषण गर्नुपर्ने, चाकडीपूर्ण सामग्री प्रकाशन गर्न नहुने तथा भ्रष्ट आचरण भएका व्यक्तिको नैतिक पतन गराउनुपर्ने जस्ता विषयमा पनि विशेष जोड छ । यद्यपि जहानियाँ राणाशासनकाल भएकाले प्रेस स्वतन्त्रता, निष्पक्षता र सन्तुलन जस्ता लोकतान्त्रिक मूल्य भने त्यसमा समेटिएका थिएनन् । 

नेपालका विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सामान्यतया पत्रकारिताको सिद्धान्त, समाचार लेखन, सञ्चार सिद्धान्त, मिडिया कानुन र मिडिया नैतिकताका पक्षलाई जोड दिइएको पाइन्छ । यसमध्ये ‘मिडिया इथिक्स’ वा ‘पत्रकारिता नैतिकता’ पाठ्यक्रमको महत्वपूर्ण अंश हो । व्यवहारमा धेरैजसो पाठ्यक्रम सैद्धान्तिक केन्द्रित हुने र व्यावहारिक नैतिक निर्णय प्रक्रियामा कम ध्यान दिने समस्या छ । 

नेपालको सन्दर्भमा पत्रकार आचारसंहिता ः अवधारणा र संरचना तथा वाटरगेट काण्ड जस्तै अब हाम्रा पाठ्यक्रममा हामीकहाँ भएका रसेन्द्र भट्टराई र दिलशोभा श्रेष्ठ काण्ड पनि पढाइनु पर्छ । हाम्रो आचारसंहितामा उल्लेखित सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, गोपनीयताको सम्मान, सामाजिक उत्तरदायित्व निर्वाह, त्रुटि सच्याउने दायित्व जस्ता विषयलाई अझ मिहिन ढङ्गले पुनव्र्याख्या गर्नु जरुरी छ । 

आचारसंहिताको मुख्य उद्देश्य पत्रकारितालाई व्यावसायिक, उत्तरदायी र विश्वसनीय बनाउनु हो । पत्रकारिता शिक्षा र आचारसंहिता एकअर्काका पूरक हुन् । मूलत पाठ्यक्रमले विद्यार्थीलाई नैतिक निर्णय क्षमता विकास गराउने, व्यावसायिक व्यवहारका मापदण्ड सिकाउने र पत्रकारिताको सामाजिक उत्तरदायित्व बुझाउने काम गर्न सक्नु पर्छ । यद्यपि पाठ्यक्रममा आशिंक रूपमा मिडिया नैतिकता समावेश भए पनि वास्तविक रूपमा पत्रकारितामा यसको पालन कमजोर देखिन्छ । यसको पालनालाई अभिवृद्धि गराउँदै यसलाई समयसापेक्ष बनाउने सन्दर्भमा प्रेस काउन्सिल नेपाललाई विश्वविद्यालयले ‘थिङ्क ट्याङ्क’ का रूपमा सहयोग पु¥याउन सक्ने छन् । त्यस सन्दर्भमा काउन्सिलले पनि पत्रकारिता विषयका प्राध्यापक, अनुसन्धातासँग बृहत् परामर्श छलफल गरेर अघि बढ्नु उपयुक्त हुन्छ । 

अझै संसारमा विचार र ज्ञानको विनिमय अपरिहार्य छ र रहिरहने छ । त्यति मात्र होइन, संसारभरका मानिसलाई सत्य, तथ्य, खोजमूलक, विश्वसनीय र भरपर्दो सूचना, जानकारी र समाचार आफूले पत्यार गरेकै अखबार तथा सञ्चार माध्यममा पढ्ने, हेर्ने, सुन्ने आमचलन व्याप्त छ । अहिले युट्युब प्लेटफर्म यसरी फस्टाइरहेका छन् कि जसले गर्दा छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा पुगेको छ । त्यही सन्दर्भमा छापा माध्यमका पत्रकारले आफूलाई ‘अपग्रेड’ गर्न जरुरी छ । 

त्यति मात्र होइन अहिले विकास भएका एआई अर्थात (कृत्रिम बुद्धिमता) का कारण रोबर्टले समाचार भन्ने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ द्वारा समाचार लेख्ने काम हुँदा पत्रकारको जागिरसमेत धरापमा पर्न थालेका छन् । यसको अर्थ यो विकासलाई पत्रकारले आफ्ना लागि समस्या ठान्नु हुँदैन । यसभित्रै थप सिर्जनात्मकताका साथ आफूलाई उभ्याउँदै पत्रकारले बदलिँदो परिस्थिति अनुरूपका चुनौती पार गर्नुपर्ने दायित्व बुझ्नु पर्छ । 

गोरखापत्रभन्दा १२१ वर्षअघि भारतको कोलकाताबाट प्रकाशित भएको दक्षिण एसियाकै पहिलो पत्रिका ‘बङ्गाल बजेट’ निजी क्षेत्रबाट प्रकाशित भएको थियो । जेम्स अगस्टस हिक्कीले ‘कलकत्ता एड्भरटाइजर’ बाट प्रकाशित गरेको सो पत्रिकालाई तत्कालीन औपनिवेशिक शासकले केही अङ्कभन्दा बढी प्रकाशित हुन दिएन । बन्द गराए र हिक्कीलाई भारतबाटै निकालिएको इतिहाससमेत छ । पत्रकारितामा शासकको त्यस्तो कुदृष्टिको छिमेकी अनुभवसँगै प्रकाशित भएको गोरखापत्रको यावत् कालखण्ड नेपाली पत्रकारिताको सिङ्गो विश्वविद्यालयभन्दा फरक पर्दैन । 

नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षा, यसको पाठ्यक्रमको संरचना र त्यसमा आचारसंहिताको पक्षलाई जोडेर अघि बढाउने सन्दर्भमा विश्लेषण गर्दा पर्याप्त अध्ययन अनुसन्धानको कमी छ । पत्रकार आचारसंहिताका प्रमुख सिद्धान्त अध्ययन गर्दै पाठ्यक्रममा आचारसंहिता समावेशको अवस्था मूल्याङ्कनसहित आचारसंहिता प्रवर्धनमा पाठ्यक्रमको भूमिका पहिचान जसरी हुनुपथ्र्यो, त्यसरी हुन सकेको पाइँदैन । त्रिभुवन विश्वविद्यालयसहित काठमाडौँ, पूर्वाञ्चल, खुला, सुदूरपश्चिम मात्र होइन अघिल्लो वर्षबाट मात्र पत्रकारिता अध्यापन सञ्चालनमा आएको राजर्षि जनक विश्वविद्यालयमा समेत पाठ्यक्रम निर्माणमा यस मामलमा पर्याप्त ध्यान दिएको पाइँदैन । यदि पाठ्यक्रममा पर्याप्तता भए पनि सोहीबमोजिम प्राध्यापन कार्य हुन सकेको पाइँदैन । यसमा दस्ताबेज विश्लेषण, द्वितीयक स्रोतको अध्ययन र शैक्षिक जर्नल तथा रिपोर्टहरूको समीक्षा मात्र गरिएको पाइन्छ । सरोकारवालासँग गहन छलफल र राय सुझाव लिएर समेत नीति निर्माता अघि बढेको पाइँदैन । 

आचारसंहिताको विषय भनेपछि पत्रकारिताको सिद्धान्तमध्ये सञ्चारको सामाजिक उत्तरदायित्वको सिद्धान्त अनुसार सञ्चार माध्यमले समाजप्रति उत्तरदायी भएर काम गर्नु पर्छ भन्ने अवधारण जबर्जस्त अघि सर्छ । नैतिक पत्रकारिता सिद्धान्तले नैतिक, आचरणयुक्त र व्यावसायिक पत्रकारिताले सत्यता, निष्पक्षता, सन्तुलन र उत्तरदायित्वलाई केन्द्रमा राख्छ । हाम्रा पाठ्यक्रममा पत्रकारिता शिक्षाले कुन तहको र कस्तो खालको जनशक्ति निर्माण गर्ने हो भन्ने सन्दर्भमा पर्याप्त अनुसन्धान, छलफल र प्रक्षेपण पछि त्यही ढङ्गको पाठ्यक्रम र सो निर्माणमा आचारसंहिताको सैद्धान्तिक र व्यावहारिक पक्षलाई पर्याप्त ध्यान दिनु पर्छ । जुन ध्यान अहिलेसम्म अपुग छ । 

सुधारका सम्भावना नभएका भने होइनन् । पाठ्यक्रम सुधार, केस स्टडीमा आधारित शिक्षण, डिजिटल इथिक्स समावेश, अनुसन्धानमुखी शिक्षा, व्यावहारिक प्रशिक्षण र प्रयोगात्मक अभ्यासलाई जोड दिन सक्दा यसमा धेरै सुधार हुन सक्छ । पत्रकारिता शिक्षा र आचारसंहिता प्रवर्धनबिच सशक्त सम्बन्ध भए पनि व्यावहारिकस्तरमा केही खाडल छ । अब त्यसलाई पुर्न सक्दा आचारसंहिताको कार्यान्वयनका चुनौती केही हदसम्म आफैँ घट्छ । पाठ्यक्रमले नैतिकता सिकाए पनि मिडिया उद्योगको दबाबले त्यसको कार्यान्वयन पक्ष कमजोर छ । त्यो त्यसको निगरानीका लागि प्रेस काउन्सिल जस्ता संस्था सक्रिय हुनु पर्छ । पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रम आचारसंहिता प्रवर्धनको महत्वपूर्ण आधार हो । यसको प्रभावकारिता बढाउन पाठ्यक्रमलाई व्यावहारिक बनाउनु, आचारसंहितालाई अनिवार्य अध्ययन बनाउनु, संस्थागत निगरानी सुदृढ गर्नु आवश्यक छ । 

यस्तो अवस्थामा एक्काइसौँ शताब्दीको विश्व प्रतिस्पर्धा र त्यसमा खरो बिक्न सक्ने सक्षम जनशक्ति (सञ्चारकर्मी) उत्पादन गर्नुपर्ने देशको दायित्वलाई विश्वविद्यालयले समेत आत्मसात् गर्दै तोकिएको आचारसंहितालाई प्राथमिकतामा राख्नु जरुरी छ । पत्रकार आचारसंहितालाई भरपुर कार्यान्वयन गर्न गराउन त्यसको जागरणमा विश्वविद्यालयको भूमिका गहन हुन्छ । जसका लागि माध्यमिक तहदेखि नै नैतिकता र २१ औँ शताब्दी अनुकूलको डिजिटल शिक्षाबारे ज्ञान बाँड्नु आवश्यक छ । 

  

लेखक बाट थप