धीरेन्द्रप्रसाद साह
राजविराज, जेठ १ गते ।जिल्ला प्रशासन कार्यालय सप्तरीले ठूलो स्वरमा बाजा तथा डिजे बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले सप्तरीमा विवाह, चाडपर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमका अवसरमा ठूलो स्वरमा डिजे र बाजा बजाउँदै आएको कारण यस्तो आग्रह गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा शुक्रबार जारी सूचनामा सार्वजनिक बाटो तथा बस्ती क्षेत्रमा ठूलो आवाजमा डिजे तथा बाजा बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै मानवीय स्वास्थ्य, अध्ययन तथा शान्त वातावरणमा नकारात्मक असर परेको जनाउनु भएको छ।
यस सम्बन्धमा सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखाले समेत आवश्यक ध्यानाकर्षण गराएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रमहरू गर्दा अरू व्यक्तिलाई असर नपर्ने गरी आफ्नै घर वा कार्यक्रमस्थलभित्र सीमित राखेर शान्तिपूर्ण रूपमा बाजा र डिजे प्रयोग गर्न समेत आग्रह गर्नु भएको छ।