• १ जेठ २०८३, शुक्रबार

बागलुङ दुग्ध सहकारीले ‘मोही’ ब्रान्डिङ गर्दै

blog

बागलुङ दुग्ध सहकारी सङ्घले उत्पादन गरेर बजारीकरण गर्न लागेको मोही ।तस्बिर : नवराज नेपाली ।

नवराज नेपाली

बागलुङ (गलकोट) जेठ १ गते । साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी सङ्घले मोही (मही) ब्रान्डिङ सुरु गरेको छ।

२६ औँ स्थापना दिवसको अवसर पारेर सङ्घले जेठ १ गतेदेखि बागलुङ बजारबाट मोही ब्रान्डिङको तयारी गरेको हो।स्थापना दिवसका अवसरमा बागलुङ नगरपालिका वडा नं. २ श्रीनगरटोलस्थित सङ्घको कार्यालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा सङ्घका अध्यक्ष दीपक गौतमले मोहीको बिक्री वितरण गर्न लागिएको जानकारी दिनुभयो।

उपभोक्ता माझ परम्परागत तथा गुणस्तरीय दुग्ध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मोही ब्रान्डिङ अभियान थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो।

सङ्घले हाल खुला दूध, प्याकेट दूध, खुला तथा प्याकेट दही, खुला तथा प्याकेट घ्यू, खुवा, विभिन्न क्वालिटीका आइसक्रिम, खुला तथा प्याकेट छुर्पी, लस्सी, पनिर, खुवा, नौनी लगायतका दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएकोमा पछिल्लो समय मोही समेत बिक्री वितरण हुन थालेको सङ्घले जनाएको छ।

सङ्घका अनुसार स्थानीय किसानबाट सङ्कलित दूधलाई प्रशोधन गरी बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने अभियानअन्तर्गत अब मोहीलाई पनि छुट्टै पहिचानसहित बजारमा ल्याउन लागिएको हो।

स्वास्थ्यका दृष्टिले उपयोगी तथा परम्परागत नेपाली पेयका रूपमा परिचित मोहीको ब्रान्डिङले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै दुग्ध उपभोग संस्कृति विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बागलुङका विभिन्न १५ वटा दुग्ध सहकारी संस्थाका शेयर सदस्य कृषकहरूले उत्पादन गरेको दूध सहकारी संस्थाले सङ्कलन गरेर संघसम्म ढुवानी गर्ने गरेका छन्।

सदस्यको उत्पादनलाई बजारमा दूध बिक्री वितरण, प्रशोधित सामग्रीको बजारीकरण गर्दै आएको छौँ, दुग्ध सहकारी सङ्घका अध्यक्ष गौतमले भन्नुभयो, “कृषकहरूको दूध र दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर प्रत्येक महिना करिब ९० लाख रुपैयाँ गाउँ जाने गरेको छ।”

गत आर्थिक वर्षमा सङ्घले १० करोड ९९ लाख १७ हजार ८५५ रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गरेको छ।कृषकहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणसँगै पशु उपचार, बीमा, घाँस, आहार लगायतमा सङ्घले सहकारी संस्थामार्फत कृषक सदस्यहरूलाई सहयोग गर्दै आएको अध्यक्ष गौतमले जानकारी दिनुभयो।

आठ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरू मिलेर २०५७ चैतमा स्थापना भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले २०५८ जेठ १ गतेदेखि दूधको कारोबार सुरु गरेको थियो। 

पहिलो दिन १४१ लिटर दूध सङ्कलन गरेर दूधको कारोबार सुरु गरेको सङ्घले हाल दैनिक करिब तीन हजार लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ।

१५ वटा सहकारीका करिब १५ सय सहकारीका शेयर सदस्य कृषकहरूको उत्पादनलाई बजारसम्म ल्याउने र बजारको पैसा कृषकसम्म पुर्‍याउने कार्यलाई निरन्तरता दिनका लागि राज्यका तर्फबाट सहजीकरणको आवश्यकता रहेको जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो।