काठमाडौँ, वैशाख ३१ गते । काठमाडौँमा जारी आइसिसी विश्वकप लिग–२ मा अमेरिका स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई दुई रनले हराएको हो ।
वर्षाले प्रभाविक खेलमा ओभर घटाएर जितका लागि ३२ ओभरमा दुई सय ४९ रनको लक्ष्य पाएको अमेरिकाले ३२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४६ रन मात्र बनाउन सक्यो । अमेरिकाले २६.४ ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ६० रन बनाउँदा पानी परेको थियो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ७५ बलमा पाँच चौका र आठ छक्का हान्नुभयो । यस्तै ओपनर स्मिथ पटेलले ७२, शुभम् रन्जनेले १६ र कप्तान मोनङ्क पटेलले रन बनाउनुभयो । बलिङमा स्कटल्यान्डका ब्राड करी, ब्रान्डन म्याकमुलेन र सफायान सरिफले दुई दुई विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेटको क्षतिमा तीन सय २१ रनको विशाल योगफल तयार गरेको थियो । सुरुमा बुधबार राति परेको पानीका कारण खेल ढिला गरी सुरु हुँदा ४७ ओभरमा झारिएको हो ।
स्कटल्यान्डका लागि ओपनर फिन्ले म्याक्रिथले १०२ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७७ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलनले ५५, माइकल इङ्लिसले ५८, माइकल लिस्कले अविजित २८, मार्क वाटले अविजित २५ र जर्ज मुन्सेले २० रन बनाउनुभयो ।
बलिङमा अमेरिकाका जसदिप सिंह र सौरभ नेत्रभाल्करले दुई दुई विकेट लिनुभयो । मिलिन्द कुमार र शुभम रञ्जनेले एक एक विकेट लिनुभयो । जितसँगै स्कटल्यान्ड शीर्षस्थानमा उक्लिएको छ ।
लिगमा ३० खेल सकेको स्कटल्यान्डले ३८ अङ्क बनाएको छ । २५ खेल सकेको अमेरिका ३६ अङ्कका साथ दोस्रो स्थानमा झरेको छ । यस सिरिजको अर्को टोली नेपाल २५ खेलबाट १८ अङ्क जोड्दै सातौँ स्थानमा छ ।
आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।