सन्तोष दहित
दाङ, वैशाख ३१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन र सीपमूलक शिक्षामार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले सङ्घीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले प्रदेशहरूलाई अझ बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिनुभयो ।
उहाँले सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको समेत बताउनुभयो । सङ्घीय शासन प्रणाली प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो । स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्वीस सरकार र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सङ्घीयताको सुदृढीकरण र नवप्रवर्तनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो ।
भेटवार्तामा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री र प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको सहभागिता थियो । भेटका क्रममा नेपाल र स्विट्जरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध, नवप्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा समेत छलफल भएको थियो ।
मुख्यमन्त्री आचार्यसँग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर शिष्टाचार भेटवार्ता गर्दै ।