• १ जेठ २०८३, शुक्रबार

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता; द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

blog

सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि नेपालका लागि जापानका राजदूत माएडा तोरु।

काठमाडौँ, जेठ १ गते । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

भेटका क्रममा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल र जापानबिचको ऐतिहासिक सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक–सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगको उच्च प्रशंसा गर्नुभयो । सभामुख अर्यालले आगामी दिनमा दुई देशबीचको सहकार्य अझ विस्तार र सुदृढ हुने अपेक्षा समेत राख्नुभयो ।

सो अवसरमा जापानी राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले सधैँ उच्च महत्त्व दिएको उल्लेख गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा जापानको सहयोग जारी रहने स्पष्ट पार्दै दुई देशबीचको आपसी सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।