नयाँदिल्ली, जेठ १ गते । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचार सम्बन्धी दीवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाउनुभएको छ । अमेरिकी अदालतमा चलिरहेको बहुचर्चित मुद्दामा दोष स्वीकार नगरी गरिएको यो सहमतिलाई अडानी समूहमाथि लामो समयदेखि लाग्दै आएका वित्तीय तथा कानूनी विवादको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
न्युयोर्कमा सन् २०२४ को नोभेम्बरमा दर्ता गरिएको अभियोगमा अडानी र उहाँका केही निकट सहयोगीमाथि अन्तर्राष्ट्रिय लगानीकर्तालाई जानाजानी भ्रममा पारेको आरोप लगाइएको थियो । अमेरिकी अभियोजकले ठूलो परिमाणको घुसखोरी योजनामार्फत सौर्य ऊर्जा आपूर्ति सम्झौता हाँसिल गर्न भारतीय अधिकारीलाई प्रभावित पार्ने प्रयास गरिएको दाबी गरेका थिए ।
अभियोगअनुसार अडानीमाथि करिब २५ करोड अमेरिकी डलर बराबरको घुस योजनामा संलग्न रहेको आरोप थियो । उक्त योजनामार्फत आकर्षक ऊर्जा सम्झौता सुरक्षित गर्न खोजिएको अमेरिकी पक्षको दाबी थियो । अडानी ग्रीन एनर्जीले मुम्बई स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार गौतम अडानी र उहाँका भतिजा सागर अडानीले संयुक्तरूपमा एक करोड ८० लाख अमेरिकी डलर बराबरको ‘नागरिक जरिवाना’ तिर्न सहमति जनाउनुभएको छ ।
कम्पनीले यो सहमति ‘आरोप स्वीकार वा अस्वीकार नगरी’ भएको स्पष्ट पारेको छ । पत्रमा अडानी ग्रीन एनर्जी स्वयं यो मुद्दाको प्रत्यक्ष पक्ष नभएको र कम्पनीविरुद्ध कुनै औपचारिक आरोप नलगाइएको पनि उल्लेख गरिएको छ । साथै अमेरिकी अदालतको अन्तिम आदेश आउन बाँकी रहेको जानकारी दिइएको छ । यसैबिच अमेरिकी अभियोजकले अडानीविरुद्ध लगाइएका केही आरोप फिर्ता लिने तयारी गरेको समाचार द न्युयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको थियो ।
उक्त रिपोर्टअनुसार अडानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलमध्ये एक रोबर्ट गिफ्राको नेतृत्वमा नयाँ कानूनी टोली नियुक्त गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो । गौतम अडानी पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय व्यापार जगतमा लगातार चर्चामा रहँदै आउनुभएको छ । कोइला, बन्दरगाह, विमानस्थल, सिमेन्ट, ऊर्जा र सञ्चार माध्यमसम्म फैलिएको अडानी समूहको व्यापारिक विस्तारले उहाँलाई भारतकै शक्तिशाली उद्योगपतिमध्ये एक बनाएको छ ।
तर सोही अवधिमा समूहमाथि कर्पोरेट पारदर्शिता, सेयर कारोबार र वित्तीय अनियमितता सम्बन्धी आरोप पनि लाग्दै आएका छन् । केही अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनपछि अडानी समूहका कम्पनीको सेयर बजारमा तीव्र गिरावट आएको थियो, जसले विश्वव्यापी लगानी कर्ता माझ ठूलो चासो र बहस उत्पन्न गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको चर्चा हुने अडानीको जन्म गुजरात राज्यको अहमदाबादमा मध्यमवर्गीय परिवारमा भएको थियो । आर्थिक सङ्घर्षबीच हुर्किनुभएका उहाँले १६ वर्षको उमेरमै विद्यालय छोड्नुभएको थियो । पछि रोजगारीको खोजीमा उहाँ भारतको आर्थिक केन्द्र मुम्बई पुग्नुभएको थियो । मुम्बईमा उहाँले सुरुमा रत्न तथा हिरा व्यापार क्षेत्रमा काम गर्नुभएको थियो । त्यसपछि आफ्ना दाजुको प्लास्टिक व्यवसायमा केही समय संलग्न भएर उहाँले व्यापारिक अनुभव हासिल गर्नुभयो ।
सन् १९८८ मा उहाँले निर्यात व्यापारबाट आफ्नो व्यवसायिक यात्रा औपचारिक रूपमा सुरु गर्नुभएको थियो । त्यही व्यवसाय विस्तार हुँदै पछि अडानी समूहका रूपमा विकसित भयो । उहाँको व्यापारिक जीवनमा निर्णायक मोड सन् १९९५ मा आयो । त्यस बेला उहाँको समूहले गुजरातमा निजी क्षेत्र अन्तर्गत व्यावसायिक बन्दरगाह निर्माण तथा सञ्चालनको ठूलो सम्झौता प्राप्त गरेको थियो । त्यसपछि अडानी समूहले पूर्वाधार, ऊर्जा र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा तीव्र विस्तार गर्दै भारतको प्रमुख औद्योगिक समूहका रूपमा आफ्नो स्थान बनाएको हो । रासस/एएफपी